भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । करिब साढे चार करोड रुपैयाँको स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
उनी हाल मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत (आठौँ तह) छन् । २६ साउन २०५४ मा सार्वजनिक सेवा प्रवेश गरेका भट्टराईले ३० जेठ २०७९ सम्मको अवधिमा गरेको आम्दानी तथा खर्चको विश्लेषण अख्तियारले गरेको थियो । उक्त अवधिमा पारिश्रमिक आय, अंशबन्डामा लिएको नगद, जग्गा बिक्री, सेयर बिक्री, ऋण सापटी लिएको, भत्ताबापत प्राप्त आय, कृषि आय, बिमा फिर्ता रकम, घरबहाल आय र सवारीसाधन बिक्रीसमेत गरी भट्टराईको कुल वैध आम्दानी पाँच करोड ९४ लाख ६७ हजार रुपैयाँ देखिएको छ । त्यसै अवधिमा जग्गा खरिद, ऋण लिँदा तिरेको कमिसन, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सेयर खरिद, ऋण सापटी फिर्ता, विद्युतीय उपकरण खरिद, घरको तला निर्माण, सवारीसाधन खरिद र बैंक मौज्दात गरी भट्टराईको खर्च तथा लगानी १० करोड २३ लाख ९२ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ ।