बाजुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

बाजुराबाट काठमाडौँ जाँदै गरेको बस पश्चिम नवलपरासीमा दुर्घटनामा परेको छ । उक्त बस नवलपरासीको सुनवल-४ स्थित गैरे पेट्रोल पम्प नजिकै अल्कत्रे डाँडामा ठोक्किएपछि १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये पनि एकजनाको अवस्था गम्भीर छ । सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु२ख १६९६ नम्बरको टिपर बिहीबार राति ९:४५ बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए ।

बोहराका अनुसार बसमा ३५ जना सवार थिए । दुर्घटनामा बसका चालक पनि घाइते भएका छन् । पाँचजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनाका घाइतेहरूको उपचार भलुहीस्थित देवदह मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालक सुनवल-१० गैंडाखालका स्थायीवासी सुनिल दर्जीलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

Exit mobile version