कार्यालयमै ट्राफिक प्रहरीमाथि छुरा प्रहार

सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ। महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।
उनका अनुसार कार्यालय बाहिर पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो। ट्राफिक कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए। उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ।

Exit mobile version