आगो ताप्ने क्रममा निस्सासिएर सासू बुहारीको मृत्यु

जिल्लाको अमरगढी–१ मा आगो ताप्ने क्रममा निसास्सिएर दुईजनाको मृत्यु भएको  छ। मृत्यु हुने सासू बुहारी हुन् ।

आइतबार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिइन् ।

उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरुको मृत्यु भएको खुलेको छ । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version