मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ ।

ती पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुनबमोजिम उपनिर्वाचनका लागि मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ । विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका नागरिकका साथै विशेषगरी पद रिक्त भएका सम्बन्धित स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आज आग्रह गरेको हो ।

गत २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् विभिन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी २३ पद रिक्त भएको थियो ।

Exit mobile version