बल्ल पुग्यो बत्ती

रोल्पा रोल्पाका दुई विकट गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् लाइन जोडिएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर- ३ र वडा नम्बर- ४ का भौगोलिक रूपमा विकटमा रहेका गाउँमा राष्ट्रिय प्रशारण प्रणालीबाट बिजुली पुर्‍याइएको हो ।

नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनमार्फत सुनछहरी गाउँपालिकाका दुई गाउँका करिब १ हजार घरमा विद्युत जोडिएको हो । विद्युत् जोड्ने कार्यक्रमको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुनले गरेका थिए । उनी रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सांसदसमेत हुन् । गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने पुनको भनाइ थियो । बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनले बताए । ‘यसअघि गाउँमा बाटो आयो, सहरको सामान सस्तोमा गाउँ आउन थाल्यो । गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले,’ उनले भने, ‘अहिले बिजुली आयो अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन । दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ । घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ ।’

राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरूले राज्यको स्रोत साधनको समूचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने पुनले बताए । विकासका काममा अतिराजनीतिकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रियस्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए ।

पुनले आफू ऊर्जामन्त्री हुनुअघि रोल्पामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरूमा विद्युतीकरण पुगेको दाबी गरे । बाँकी २० प्रतिशत घरहरूमा पनि आगामी २ वर्षभित्र बिजलुी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

Exit mobile version