च्यातिएको पाइन्ट लगाउँदा अदालतको गेटमै पाइन्ट खोलायो

ललितपुर जिल्ला अदालतले सोमबार एक युवकलाई च्यातिएको पाइन्ट लगाएको भन्दै प्रवेशमा रोक लगाएको छ । आवश्यक कामले अदालत पुगेका ती युवक अनिश श्रेष्ठले अदालतभित्र छिर्न अपमानमात्र व्यहोर्नु परेन, सुरक्षाकर्मी र स्रेस्तेदारको व्यवहारका कारण अदालतको गेटमै पाइन्ट खोल्नुपरेको छ ।

अदालतले ती युवकलाई ‘ग्रन्च पाइन्ट’ खोलाएर थर्मल ट्राउजरमात्र लगाएर प्रवेश दिएको छ । अदालतको सुरक्षामा खटिएका प्रहरी र कर्मचारीहरुले धरानका अनिश श्रेष्ठलाई ‘च्यातिएको पाइन्ट लगाएर’ प्रवेश गर्न नपाइने भन्दै उक्त प्यान्ट खोलेर थर्मल ट्राउजर लगाएर भित्र जान दिएका हुन् । अधिवक्ता दिनेशराज सत्यालका अनुसार अदालतको सुरक्षाजाँचमा खटिएका प्रहरीहरुले अनिशलाई च्यातिएको पाइन्ट लगाएर अदालत प्रवेशमा रोक लगाएका थिए । सत्यालले फेसबुकमा लेखेअनुसार श्रेष्ठले अदालतमा जानैपर्ने सूचना देखाए पनि प्रहरीले प्रवेश दिन अस्वीकार गरेको थियो ।

यसपछि सत्यालले अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईलाई भेटे । तर, उनले पनि श्रेष्ठलाई भित्र पस्न दिन अस्वीकार गरे । उनले घर गएर कपडा चेन्ज गरेर आउन सल्लाह दिए । अर्को पाइन्ट किन्न पनि तत्काल सम्भव नभएको श्रेष्ठले बताए । प्रहरीले सोधे- भित्र ट्राउजर छ? अनि छ भनेपछि प्रहरीले उनलाई पाइन्ट खोल्न लगाएर ट्राउजरमा भित्र जान दिएको थियो । सत्यालले लेखेका छन् : भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोशाक भएन । के यो सही हो ?

Exit mobile version