पानीका मुहान जोगाउन बाँस हटाइँदै

पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरू मासिँदै जान थालेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

वडाध्यक्ष प्रेमनारायण बेल्बासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने सार्वजनिक सूचना जारी गरेको हो । बाँसले ऐतिहासिक महत्त्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान सुक्ने, सुक्खायाममा आगलागीको जोखिम हुने भएकाले वडाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो । निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र वरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन सूचनामा भएिको छ ।

वर र पिपललाई चाहिने पानी र घाम बाँसले लिँदा वर-पिपल भोको रहने अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणका लागि राम्रो रहेको सामाजिक अगुवा प्रकाश बेल्बासेले बताए । वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बाँस र पानीको मुहान असर गर्ने गरी लगाइएको बाँस हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।

Exit mobile version