प्रहरी कार्यालयको पर्खाल पारी तस्करको गोदाम !

ईलाका प्रहरी कार्यालय लहानको पश्चिम पर्खालपछाडि तस्करको गोदाम रहेको पाइएको छ । यहाँ भारतबाट भन्सार छली गरेर ल्याइने प्याज भण्डारण गरी बाहिरी जिल्ला पठाउने गरिएको छ ।

‘तस्करीको प्याज गोदाम लहानको मुख्य चोक (सहिद चोकदेखि) २० मिटर दक्षिण पूर्वमा छ । यो गोदाम ईलाका प्रहरी कार्यालय लहानको प्रमुख (डिएसपी) बस्ने निवासको झ्यालबाट पश्चिम चियाउँदा प्रष्ट देखिन्छ । चौतर्फी सुरक्षा घेराको मध्य भागमा महिनौंदेखि तस्करीका सामान भण्डारण गर्ने गोदाम सञ्चालन भइरहे पनि सुरक्षा अधिकारीहरु भने चुपचाप छन् ।

मंगलबार ईलाका प्रहरी कार्यालय लहानका प्रमुख (डिएसपी) भोलाप्रसाद भट्टसँग पटकपटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका गणपति शिव गैरेले पनि प्रतिक्रिया दिन अस्वीकार गरे । डिएसपी भट्ट र सशस्त्रका एसपी गैरेलाई तस्करका गोदामबारे जानकारी मागेको केही बेरपछि गोदाम अगाडि सेतो ट्रक रोकियो । र, त्यो ट्रकमा गोदामबाट प्याजका बोराहरु लोड हुन थाल्यो ।

ईलाका प्रहरी कार्यालय लहानको पर्खाल वारि रहेको तस्करको गोदाममा भण्डारण हुने प्याजबारे मिर्जापुरका स्थानीय भन्छन्,‘बिहानदेखि मध्यरातसम्म सयौं मोटरसाइकल प्याजका बोरा भरेर लहानतर्फ जान्छ।’

प्रहरीकै संरक्षणमा तस्करी फस्टाएपछि राजस्व ओरालो लाग्नुको स्वाभाविक हो । भन्सार राजस्व ओरालो लाग्नुको कारणमध्ये तस्करी प्रमुख रहेको भन्सार प्रमुख रामराज चौरसिया स्वीकार्छन् ।

Exit mobile version