मकवानपुरको बकैया गाउँपालिकामा आइतबार बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ । बकैया गाउँपालिका–६ का वडाध्यक्ष फुलमान भोम्जनका अनुसार बाघले वडाको सुधास्थित स्थानीय तीनजनाको १९ वटा खसी बाख्रा मारेको हो ।
वडाध्यक्ष भोम्जनले स्थानीय डम्बरबहादुर भोम्जनका ११ वटा, कान्छिमाया भोम्जनका पाँचवटा र गंगाराज भोम्जनका तीनवटा खसी–बाख्रा बाघले मारेको जानकारी दिए । नजिकैको जंगलमा चर्न छोडेका खसी–बाख्रा बाघको आक्रमणमा परेका हुन् । बाघको आक्रमणपछि स्थानीय त्रसित छन् । साँझ बिहान घरबाहिर निस्कन डर भएको अध्यक्ष भोम्जनले बताए ।