ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिने महिला स्वास्थ्यकर्मीमाथि नै छाउपडी विभेद हुने गरेको पाइएको छ । महिला स्वास्थ्यकर्मीले डेरा नपाउने, महिनावारी भएका बेला खानेपानीको धारा छुन नपाउने जस्ता विभेद खेप्नु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतिका बारेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देहीमाडौँ स्वास्थ्य चौकीका इन्चार्ज निर्मला पन्तले महिनावारी भएका बेला पानीको धारा छुन नदिने गरेको पीडा सुनाइन् । मेलौली नगरपालिकाको महारुद्र स्वास्थ्य चौकीका अहेव सरिता न्यौपानेले गाउँलेले महिला स्वास्थ्यकर्मीलाई महिनावारी हुनु भयो कि नाई ? बच्चा जन्माउँदा छुनु भयो कि ? भन्दै प्रश्न सोध्ने गरेको बताइन् ।
सुत्केरी महिलालाई छोएको भए स्वास्थ्यकर्मीलाई खानेपानीको धारामा नगइदिन निर्देशन आउने गरेको दोगडाकेदारकी वरिष्ठ अहेव डम्बरा विष्ट बताउँछिन् ।