- कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ख००९८ नम्बरको बस बुधबार राति १ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।
- अमेरिका लैजाने प्रलोभनमा महिना दिनदेखि बन्धक रहेका ११ भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ । प्रहरीका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका–९ रुद्रनगरस्थित मारबाडीको घरमा महिना दिनदेखि बन्धक बनाइएको थियो । बन्धक बनाउनकै लागि तस्करले सिंगै घर भाडामा लिएका थिए । उनीहरूलाई नेपालबाट दुबई हुँदै अमेरिका लैजाने भनेर तस्करले काठमाडौं ल्याएका थिए।
- नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो ।
- नेकपा एमालेले फागुन दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन ८, ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामको प्रतिवेदन पेश हुनेछ ।
- नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले विधान मस्यौदामाथि समूहहरूबाट बिहीबार सात टोलीबाट सुझाव प्रस्तुत गरेका थिए ।
- ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
- अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने भएको छ । समिति बैठकमा बोल्दै अर्थसमिति सभापति सन्तोष चालिसेले भन्सार नाकाहरुमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले चोरीपैठारी नियन्त्रण गर्ने उपसमिति बनाएर भन्सार कार्यालयहरुको अनुगमन गर्ने निर्णय गरेको बताएका छन् ।
- र, कर्णाली प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ विपरीत पूर्वमुख्यमन्त्रीलाई सवारी सुविधा दिएको पाइएको छ । २५ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पूर्वमुख्यमन्त्रीका हैसियतले सवारीसाधन उपलब्ध गराउने निर्णय भएको पाइएको हो ।