सिकार खेल्न गएका युवकको मृत्यु 

दाङमा सिकार खेल्न गएको अबस्थामा बन्दुकले लागेर एक सिकारीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक अयजजंग थापाका अनुसार शुक्रबार राति सिकार खेल्न शान्तिनगर १ स्थित वनमा जाने क्रममा मल्ले छहरे खोलामा बन्दुकले लागेर बबई गाउँपालिका ४ स्थित विमल भन्ने २४ वर्षीय तेजलाल खत्रीको मृत्यु भएको हो ।

उनको साथमा ११/१२ जना गएको भन्ने बुझिएको भन्दै उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले बताए । ‘उनीहरुको साथमा ११/१२ जना गएको भन्ने बुझिएको, ’ उनले भने, ‘आफैँ लागेको हो वा कसैले हानेको भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं ।’

राति १ बजेतिर आफूहरु घटनास्थलमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारिएको र उनको साथबाट एउटा बन्दुक र त्यसका लागि चाहिने सामग्रीहरु फेला पारेको प्रहरी निरीक्षक थापाले बताए । साथै सँगै गएका केहीको पहिचान भइसकेकाले उनीहरुलाई खोजी गरी तत्काल पक्राउ गर्ने गरी तयारी थालिएकोसमेत उनको भनाइ छ ।  खत्रीको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ ।

Exit mobile version