नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पत्रकारिता क्षेत्रको बेथिति नियन्त्रण गर्न आग्रह गरेका छन् । सोमबार आयोजित एउटा कार्यक्रममा पत्रकारहरु बीच नगर प्रमुख विष्टले पत्रकारिता क्षेत्रसँग जोडिएका तमाम बेथिति बारे खुलेरै चर्चा गरे ।
नगर प्रमुख विष्टले युटुबरहरुले पत्रकारिताको मूल प्रवाहलाई ध्वस्त पार्ने गरी अगाडि बढिरहेको प्रति चिन्ता मात्रै गरेनन् पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघसँग आव्हान गरे, ‘यस्तै हो भने खास पत्रकारहरु र सञ्चारमाध्यम सकिन्छन् ।’ उनले पत्रकारिता कमजोर हुनु प्रजातन्त्र कमजोर हुनु हो भन्दै नेपालगन्जको संस्थागत पत्रकारितामा उपमहानगरपालिकाबाट सहयोग पुग्ने गरी कार्यविधि कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि जनाए ।
राष्ट्रिय समाचार समितिको ६३ औं बार्षिकोत्सवको सन्दर्भमा नेपालगन्जमा आयोजित अन्तरसंवादमा प्रमुख अतिथि रहेका नगर प्रमुख विष्टले पत्रकारका नाममा जो कोही पनि क्यामेरा बोकेर जथाभावी गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने टिप्पणी गरे ।