- नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको हो ।
- भारतमा नेपाली नागरिकले मोबाइल सिम कार्ड पाउने भएका छन् । भारतको टेलिकम्युनिकेसन विभागले सोमबार गरेको निर्णयअनुसार नेपाली नागरिकले पासपोर्ट वा त्यसको विकल्पमा नागरिकता, मतदाता परिचय पत्र वा दिल्लीस्थित नेपाली दूवातासले फोटोसहित प्रमाणित गरेको पत्रका आधारमा सिम कार्ड पाउने छन् ।
- मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब ६ महिना पुग्न लागेको छ । एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गइसकेको छ । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको ६ महिना बितिसक्दा पनि प्रारम्भिक चरणका कामसमेत टुङ्गिएका छैनन् ।
- वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा राप्रपा प्रदेश सांसद जानकीप्रसाद यादव र लुम्बिनी प्रदेशका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा कपिवस्तुको बुद्धभूमि गाउँपालिकामा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितिको काठ तथा दाउराको राजस्व हिनामिना अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसद यादव र वन निर्देशक भट्टसहित १९ जनालाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
- सत्ता गठबन्धनमाa रहेर अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्महालिरहेको नेपाली कांग्रेसले हाल मुलुकमा १२ वटा आर्थिक चुनौती रहेको उल्लेख गरेको छ । पार्टीको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्तावेजमा आर्थिक चुनौतीबारे उल्लेख छ । पार्टी बैठकमा पेस गरेको दस्तावेजमा उल्लेखित चुनौतीहरू समाधान गर्न कांग्रेसले नै पहल गर्ने उल्लेख छ ।
- इपिएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपिएस कोरिया शाखाका निर्देशक मैया कँडेलले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाको परीक्षा लिइने भएको र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुनेछ ।
- वीरगन्जमा देखिएको विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा बसेको सर्वदलीय बैठकले पाँचबुँदे समझदारी गरेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले वीरगन्जमा सदियौँदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबीचको एकतालाई अझ मजबुत बनाउने समझदारी गरेको छ । यस्तै, वीरगन्जमा रहेको धार्मिक स्थलहरूमा नाराबाजी, जुलुसलगायतका विरोधका कार्यक्रम नगर्ने–नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमति पनि भएको छ ।
- देशभरका लघुवित्त पीडितहरू काठमाडौँ पुगेका छन् । उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ प्रवेश गरेका हुन् । काठमाडौँमा मंगलबार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए । लघुवित्तीय संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेको उनको भनाइ छ ।