प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन परिणाम सार्वजनिक गर्दै चित्त नबुझेमा ७ दिन भित्र प्रमाण सहित पुनरावलोकन गर्न सूचित गरेको छ ।
कार्यसम्पादन मूल्यांकनमा बाँकेका सबैभन्दा बढी अंक राप्तीसोनारी गाउँपालिकाले प्राप्त गरेको छ । नरैनापुर गाउँपालिकाको स्थानीय तहलाई निर्धारित सूचकहरूको कुल प्राप्तांक ३५.३६ रहेको प्राकृतिक स्रोत तथा वित्त आयोग उल्लेख गरेको छ । बाँकेमा सबैभन्दा बढी अंक नरैनापुरले प्राप्त गरेको हो ।
त्यस्तै, बाँकेको कोहलपुर नगरपालिकाले २२.१३, बैजनाथ गाउँपालिकाले २२.२६, खजुरा गाउँपालिकाले २६.८८, जानकी गाउँपालिकाले २७.२५, डुडुवा गाउँपालिकाले २९.१३, नेपालगन्ज उपमहानगरपालिकाले २३.६४ र साप्तीसोनारी गाउँपालिकाले ३०.६९ अंक प्राप्त गरेका छन् ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आव २०८१÷८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्यांकन गरेको हो ।
आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेको लगायतका सूचकमा मूल्यांकन गरेको हो ।
असार १० भित्र बजेट ल्याए÷नल्याएको, असार ३० भित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरूपमा दिए÷नदिएकोलगायत आधारमा मूल्याङ्कन गरिन्छ ।
आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय तहहरूको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्टरूपमा समानीकरण अनुदान दिन आधारहरू तयार गरेर मूल्याङ्कन गर्ने गर्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।