नेपालगन्जका व्यवसायीद्वारा व्यावसायिक सुरक्षाको माग
नेपालगन्ज उद्योग वाणिज्य संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघले यहाँका उद्योगी व्यवसायीको व्यावसायिक सुरक्षा र नेपाल-भारत खुला सीमाका कारण सिर्जित समस्याका विषयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।
साविकको मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका २४ जिल्लाको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र बाँके अहिले पनि पश्चिम नेपालको आर्थिक, वाणिज्य, कृषि, जडीबुटी, पर्यटकीय क्षेत्र, शैक्षिक, स्वास्थ्य सेवा र संस्कृतिमा अग्रणी स्थानमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । वर्षौं अघिदेखि भारत र चीनमा आयात निर्यातको व्यावसायिक ट्रान्जिट बाँके बनेको भन्दै आर्थिक विकासमा प्रशस्त सम्भावना बोकेको बाँके खुला सीमा र त्यहाँबाट हुने अवैध कारोबारका कारण प्रभावित बनेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । भारतबाट दैनिक उपभोग्य सामानहरु (खाद्यान्न, तरकारीलगायत) को गुणस्तर परीक्षणबिना नै आयात हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै उनले अवैध आयातका सामानसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेर उद्योगी धराशायी हुँदै गएको औँल्याए । यस्तो विषम परिस्थितिमा उद्योगी व्यवसायीलाई गरी खाने वातावरण निर्माण गर्नुको साटो विभिन्न बहानामा हतोत्साहित हुने कार्य भइरहेको उनी बताउँछन् ।
स्वस्पूर्तिरुपमा उद्योग सञ्चालनका लागि आवश्यक नीति निर्माण, शुलभ दरमा बैंक ब्याजलगायतमा ध्यान पुर्याउन आवश्यक रहेको उनले जनाए ।
विस्तृत शनिबारको दैनिक नेपालगन्ज पत्रिकामा समाचार प्रकाशन हुनेछ ।