नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा : दिउँसो बन्द नहुने

भरतपुर,७ पुस : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न चट्टान फोर्ने काम गरिँदै । शनिबार देखि दैनिक चार घण्टा सवारी आवागमन बन्द गरेर चट्टान फोर्ने काम सुरु भएको छ । तस्बिर : कृष्

दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने भएको छ । आजदेखि सडक दिउँसो पनि बन्द नहुने भएको हो । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि दैनिक दिउँसो चार घण्टा बन्द हुँदै आएको थियो । यसका लागि तेस्रोपटक थपेको म्याद हिजो शनिबार सकिएको छ ।

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेको र अब यही कामका लागि भनेर गाडी रोक्नु नपर्ने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख केदार नेपालले बताए । यो सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द हुँदै आएको थियो । अब पुल निर्माण हुने ठाउँमा ढिस्को भत्काउने काम एक/दुई मिटर मात्रै बाँकी रहेको आयोजनाको पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख नेपालले बताए । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गएको वर्ष र यसवर्ष पुसदेखि दैनिक सडक बन्द हुने गरेको थियो ।

कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या हुँदै आएको हो । सडक विस्तार गरेसँगै यो सडकखण्ड ९ देखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई काठमाडौंसँग जोड्ने मुख्य सडकमा दैनिक हजारौँको सङ्ख्यामा गाडी गुड्ने गरेका छन् ।

Exit mobile version