बर्दिया आउँदै गरेको बसले ठक्कर दिँदा तीनजना घाइते

नारायणघाटबाट बर्दिया आउँदै गरेको बस नवलपुरको गैंडाकोट नगरपालिका-२ भृकुटी चोकअन्तर्गतको पूर्व-पश्चिम राजमार्गमा एम्बुलेन्ससँग ठोक्किँदा तीनजना घाइते भएका छन् । नारायणघाटबाट बर्दिया आउँदै गरेको बा.प्र.०६०१ख०१९६ नम्बरको बसले सोही दिसातर्फ जाँदैगरेको ना३६प ९४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको ग१च ७१५२ नम्बरको एम्बुलेन्समा ठोक्किँदा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्समा रहेका डाइलासिसका बिरामी मध्यबिन्दु नगरपालिका-१२ का ७५ वर्षीय मानबहादुर कुमाल, एम्बुलेन्समा सवार सोही ठाउँका ४५ वर्षीय सोमबहादुर कुमाल र गैंडाकोट-६ का स्कुटर चालक ३३ वर्षीय किशोर गौतम घाइते भएको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।

घाइतेमध्ये बिरामी कुमालको अवस्था गम्भीर रहेको र अन्यको सामान्य अवस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक शर्माले जनाए । प्रहरीले तीनवटै सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version