- आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार प्रतिनिधिसभामा प्रस्ताव पेस हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि-बजेट छलफलको कार्यतालिका पारित गरेको हो ।
- सरकारले रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारले १० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका बेला परिवारजनले भने रुसबाटै पाएको मृत्युको सूचनाका आधारमा हालसम्म १६ जना आफन्तको काजक्रिया गरेका छन् । परिवारजनले १६ जना मृतकको सम्मानमा पशुपतिनाथ भष्मेश्वरघाटमा द्वीप प्रज्वलनसमेत गरेका छन् ।
- निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ । इलाम क्षेत्र नम्बर २ मा र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ ।
- सञ्चालनमा रहेका वाणिज्य बैंकले फागुनको लागि आधार दर सार्वजनिक गरेका छन् । यस्तो विवरण सार्वजनिक गरिसकेका १९ वटै बैंकको आधार दर घटेको छ । यससँगै बैंकहरूको औसत आधार दर ९.६६ प्रतिशतबाट घटेर ९.४१ प्रतिशतमा सीमित भएको हो । तीनबाहेक सबै वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ ।
- स्वर्गद्वारी आश्रम गुठी पीडित किसानहरू गत फागुन ८ गतेदेखि आन्दोलनमा छन् । उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालय दाङ अगाडि धर्ना दिएका छन् । सडकमै खाने, सुत्ने र रित्तो थाल ठटाउने, सिठ्ठी फुक्ने र मानव साङ्लो बनाई बजार परिक्रमालगायत विरोधका कार्यक्रम उनीहरूले गरेका छन् ।
- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले दुई सय ७७ वटा पुगेको छ ।
- हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ७९ दशमलव शून्य नौ विन्दुमा झरेको छ । आज फाइनान्स र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ ।
- र, सरकारले आन्दोलनरत मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको हो । मन्त्रालयले मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई पत्राचार गरी छलफलका लागि आउन आग्रह गरेको छ ।