- सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।
- काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा सात दिनभित्र खाली गर्न दिएको निर्देशन कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । सोमबार गैरआवसीय नेपाली संघले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोतमप्रसाद ढकालको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म उक्त सूचना कार्यान्वयन नगर्नु नगराउनु भन्दै विपक्षी (काठमाडौं महानगर) का नाममा आदेश दिएको हो ।
- बाराको निजगढ नगरपालिका– ७ स्थित रोहित वर्कसपमा सोमबार दिउँसो भएको विस्फोटका घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । वर्कसप सञ्चालक ४५ वर्षीय रेशम मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घटनामा दुई भारतीय नागरिकसहित पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
- लघुवित्त ऋणीहरुले नयाँ बानेश्वरस्थित संसद् भवनमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका हुन् ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापान रोजगारीमा सीपयुक्त श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई सुम्पिएका छन् । जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने कार्यविधि स्वीकृत गर्दै मन्त्री भण्डारीले म्यानपावरलाई जिम्मा दिएका हुन् ।
- सरकारले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगलाई फागुन मसान्तसम्मको म्याद थप गरेको छ । आयोगले माग गरेअनुसार सोमबार बसेको मन्त्रिपरिषदको बैठकले फागुन १६ गतेदेखि लागु हुनेगरी फागुन मसान्तसम्मको समय दिएको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
- सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
- र, नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण सार्वजनिक गरेको छ । पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जनाले मासिक एक लाख रुपैयाँ तलब पाउने छन् । यस्तै पुरुषतर्फ ‘बी’ श्रेणीका ६ जनाले ७० हजार, ‘सी’ श्रेणीका ४ जनाले ५५ हजार, ‘डी’ श्रेणीका ७ जनाले ३५ हजार र उदीयमान श्रेणीमा पर्ने ७ जनाले २५ हजार रुपैयाँ तलब पाउने छन् ।