रौतहटमा एकै अस्पतालबाट तीनजना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्ने मध्य दुई भारतीय र एक नेपाली हुन् ।
रौतहटको यमुनामाई गाउँपालिका-१ सुकदेव चोकमा रहेको सगरमाथा तराई अस्पताल प्रालिमा कार्यरत उनीहरूलाई प्रहरीले फागुन १ गते नै पक्राउ गरी सोमबार मात्र सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माले अनुसार उनीहरुको घटनाको अनुसन्धान सकिएपछि मात्र सार्वजनिक गरिएको बताए ।
उनका अनुसार पक्राउ पर्ने भारत बिहारको पूर्वी चम्पारण जिल्लाको ढाका थाना वडा नम्बर-१४ का ४५ वर्षीय हसिन अख्तर, बिहारकै पूर्वी चम्पारण जिल्लाको थाना सिकारगंज वडा नम्बर ३ का २७ वर्षीय मो. तबरेज आलम र रौतहटको यमुनामाई गाउँपालिका-२ भेडियाही टोलका २७ वर्षीय कलाम मन्सुरी रहेका छन् ।
नक्कली चिकित्सकले जोखिमपूर्ण उपचार गरिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो ।