वाफ महिला च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा आज राति ९:४५ बजे नेपाल र जोर्डनको खेलल हुनेछ । फाइनल खेलमा नेपाली फरवार्ड सावित्रा भण्डारी (साम्बा) भने खेल्ने छैनन् ।
साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । क्लबसँगको सम्झौताअनुसार, साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ । त्यसैले उनी गएराति नै साउदी अरबाट फ्रान्स प्रस्थान गरेकी छन् । वाफ च्याम्पियनशिपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले चार खेलामा नौ गोल गरेकी छन् ।
साम्बाको अनुपस्थितिमा पनि नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा)को विश्वास छ । नेपाली टोली उपाधिका लागि मैदानमा उत्रिनेछ । नेपाल सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । लेवनान विरुद्ध साम्बा र प्रिती राईले गोल गरेकी थिइन् ।
नेपालले समूह चरणमा पनि सबै खेल जितेको थियो । समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । वाफ च्याम्पियनशिपमा नेपाल पहिलो पटक सहभागी भएको हो । पहिलो सहभागितामै नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ ।