इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ ।
त्यस्तै खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढाएर पठाएको हो । भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत रहने निगमले जनाएको छ । हाल निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।
यो क्षेत्रमा पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर छ । त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा छ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ र डिजेल तथा मट्टीतेल १५९ रूपैयाँ छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर छ ।
त्यस्तै डिजेल र मट्टीतेलको १६० रूपैयाँ छ । खाना पकाउने ग्यासको भाउ देशभर १ हजार ९ सय १० रूपैयाँ छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना १५/१५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ । आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।