गुठीपीडित मोही किसानसँग वार्ता गर्न समिति गठन

दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो विज्ञप्ति निकालेर आन्दोलनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वानसमेत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा गठन भएको सरकारी वार्ता समितिमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मालपोत अधिकृत, गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एक/एक जना प्रतिनिधि सदस्य रहेका छन् ।

समितिले आन्दोलनरत पक्षसँग वार्ता गर्नुका साथै समस्याको वस्तुस्थिति यसबारे सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलको आधारमा विद्यमान समस्या समाधानका लागि कानुनसम्मत, व्यवहारिक र कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्ने मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसानहरुले केही दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

Exit mobile version