सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, सात घाइते

झापाको पुर्वी नाका मेचीनगरमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल-भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच झडप हुँदा एक सशस्त्र प्रहरीसहित सातजना घाइते भएपछि तनाव सिर्जना भएको गोरखापत्र दैनिकले खबर प्रकाशित गरेको छ । सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गोरखापत्रको समाचार अनुसार शुक्रबार बेलुका नेपाल-भारत सीमा पिलर ९०-२-९०-३ नजिकै भारतबाट अवैधरुपमा सामान ल्याउदै गर्दा सशस्त्र प्रहरीले सामान नियण्त्रणमा लिन खोज्दा झडप भएको हो । प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा घटना भएको बताइन्छ ।

सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरुको शरिरमा धारिलो हतियारको चोट लागेको बिएण्डसि अस्पतालका चिकित्सकहरुले बताएका छन् । घाइतेहरुको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका प्रहरी टोलीसंग स्थानीयको झडप भएको हो । धारिलो हतियार प्रहारबाट दीपा बातर, हरि बातर विषेश राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनह यादव घाइते भएका छन् । उनीहरुको हात र शरीरमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले घटनाबारे अनुसन्धान भइरहेको बताए । घटना लगत्तै घटनास्थल र आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

Exit mobile version