यी हुन् अहिले ट्रेकिङ जान उपयुक्त ७ ठाउँ

सविना कार्की

कुनै समय सबैजसो पदमार्ग तथा पर्वतारोहणमा विदेशी पर्यटक मात्र हुन्थे । अहिले भने नेपालीहरूको जमात बढ्दो छ ।

यो सिजनमा सहरबाट पर ग्रामीण भेगको परिवेश, संस्कृति, जनावर र ढकमक्क लालीगुराँसले पदयात्रा थप रोमाञ्चक बनाइदिन्छ ।

यदि तपाईं पनि ट्रेकिङ जाने सोच्दै हुनुहुन्छ भने यी ७ गन्तव्य उपयुक्त हुन सक्छन् । यहाँ उल्लिखित ठाउँ जान लाग्ने समय औसत हो । यसबारे हामीलाई विभिन्न पर्यटन व्यवसायीहरूले जानकारी दिएका हुन् ।

तिलिचो ताल, थोरङ्ला पास

मनाङको तिलिचो ट्रेकिङ जानेहरूको लोकप्रिय गन्तव्यमा पर्छ । ४९१९ मिटर उचाइमा रहेको तिलिचो अन्नपूर्ण हिमालले घेरिएको छ । यसको अधिकांश पदयात्रा अन्नपूर्ण सर्किट मार्गमा छ । अक्टोबर, नोभेम्बर, मार्च र अप्रिल महिना यहाँ जान उपयुक्त समय मानिन्छ ।

मनास्लु, लमजुङ, अन्नपूर्ण, गंगापूर्ण हिमशृंखलाको मनोरम दृश्यका कारण पनि यो गन्तव्य लोकप्रिय छ । तिलिचो ट्रेकिङका निम्ति पाँचदेखि सात दिन लाग्छ । तिलिचो र थोरङ्ला पास एकैपटक जान सकिन्छ । पहिलो दिन काठमाडौंदेखि बेसीसहर र दोस्रो दिन बेसीसहर हुँदै चामेसम्म गाडीमार्फत जान सकिन्छ । तेस्रो दिन पदयात्रा गरी चामे, पिसाङ हुँदै मनाङ पुगिन्छ ।  चौथो दिन मनाङ खांगसार र चौथो दिन तिलिचो ताल पुगिन्छ ।

तिलिचो पुगेपछि दुई दिन थपियो भने थोरङ्ला पास पनि पुगिन्छ । थोरङ्ला पास ट्रेकिङलाई अन्नपूर्ण सर्किट पनि भनिन्छ । पाचौं दिन तिलिचो बेस क्याम्पबाट याकखर्क हुँदै थोरङ फेदी र छैटौं दिन मुक्तिनाथ हुँदै थोरङ्ला पास पुगिन्छ । ५११६ मिटर उचाइमा रहेको थोरङ्ला पास पछिल्लो समय धेरै रूचाइएको ट्रेकिङ गन्तव्यमा पर्छ । यात्राका क्रममा अन्नपूर्ण, धौवलागिरि, माछापुच्छ्रे, मनास्लु, गंगापूर्ण लागयत हिमश्रृंखला देखिन्छ । सातौं दिन पोखरा हुँदै काठमाडौं फर्किन सकिन्छ ।

सगरमाथा आधार शिविर

पर्वतीय पर्यटनमा पहिलो नम्बरमा आउने मुख्य गन्तव्य सगरमाथा आधार शिविर नै हो । यहाँको पदयात्रा एभरेस्ट बेस क्याम्प ट्रेकिङका नामले चिनिन्छ । सगरमाथा क्षेत्रमा मकालु, नुत्से, माउन्ट चो ओयु जस्ता हिमाल शृंखलाको मनोरम दृश्य हेर्न पाइन्छ । पहिलो दिन काठमाडौंबाट लुक्लासम्म जहाजमा जान सकिन्छ । सोही दिन फाकदिङसम्म पुगिन्छ ।

दोस्रो दिन फाकदिङदेखि नाम्चे, तेस्रो दिन नाम्चेदेखि एभरेस्ट भ्यू प्वाइन्ट पुगेर खुम्दिङ भिलेज हुँदै नाम्चे नै आइपुगिन्छ । चौथो दिन नाम्चेबाट दिबुचे हुँदै पाँचौं दिन दिबुचेदेखि दिङबोचे, छैटौं दिन दिङबोचेबाट लोबुचे पुगिन्छ ।

सातौं दिन भने आधार शिविरका लागि यात्रा सुरू हुन्छ । यो दिन लोबुचेबाट गोरकसेप हुँदै आधार शिविर पुगिन्छ । आठौं दिन गोरकसेपबाट काला पत्थर पुगिन्छ । सोही दिन फिरीचेसम्म आइपुगिन्छ । नवौं दिन नाम्चे हुँदै लुक्ला आइपुगिन्छ । दसौं दिन लुक्लाबाट काठमाडौं उडानमार्फत फर्किन सकिन्छ ।

अन्नपूर्ण आधार शिविर

अन्नपूर्ण आधार शिविर दोस्रो लोकप्रिय पदयात्राका रूपमा लिइन्छ । एक सातासम्म स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य मन पराउनेका लागि यो रमाइलो पदयात्रा हो । यहाँ विभिन्न दिशाबाट देखिने अन्नपूर्ण हिमालसँगै हिउँचुली, माछापुच्छ्रे, गंगापूर्ण, बराहा शिखर लगायत हिमशृंखला नजिकबाट नियाल्न पाइन्छ ।

काठमाडौंबाट पोखरा गई त्यहाँबाट नयाँपुलसम्म गाडीमा जान सकिन्छ । त्यहाँदेखि घान्द्रुकसम्म हिँड्दै जानुपर्छ । दोस्रो दिन घान्द्रुकदेखि छोमरोङ हुँदै सिनुवा र तेस्रो दिन सिनुवादेखि बाँस-दोभान-हिमालयन-देउराली पुगिन्छ । चौथो दिन देउरालीदेखि एमबिसी हुँदै अन्नपूर्ण आधार शिविर पुगिन्छ ।

पाचौं दिन शिविरदेखि एमबिसी-देउराली हुँदै सोही ट्रेलमार्फत बाँस फर्किइन्छ । छैटौं दिन बाँसदेखि झिनुसम्म, सातौं दिन मोक्यूदेखि नयाँपुल हुँदै पोखरा र सोही दिन गाडी अथवा उडानमार्फत काठमाडौं आइपुगिनेछ ।

मनास्लु सर्किट

यो मौसममा अर्को उपयुक्त गन्तव्य हो मनास्लु सर्किट । यहाँ अन्य आधार शिविरभन्दा भिडभाड कम हुन्छ । खुलेको मौसममा जंगलभरि फूलहरू नियाल्दै हिँड्न सकिन्छ । यो पदयात्रामा गणेश हिमाल, हिमलुङ, काङगुरू, नेमजुङ र अन्नपूर्ण हिमश्रृंखला देखिन्छ । मनास्लु सर्किटका साता/दस दिनमा पूरा गर्न सकिन्छ ।

काठमाडौंबाट पहिलो दिन गाडीमा माछाखोलासम्म पुगिन्छ । दोस्रो दिन माछाखोलाबाट जगत, तेस्रो दिन जगतबाट ड्याङ, चौथो दिन ड्याङबाट नामरूग पुगिन्छ । पाँचौं दिन नामरूगबाट ल्हो हुँदै सामागाउँ, छैटौं दिन सामागाउँ धर्मशाला हुँदै लार्के पास पुगिन्छ । ५१०६ मिटर उचाइमा रहेको लार्के पास मनास्लु क्षेत्रको उच्च विन्दु हो ।

सातौं दिन लार्के पासबाट झरेर भिमथान, आठौं दिन भिमथानबाट तिल्चे र नवौं दिन तिलचेबाट धारापानी हुँदै सोही दिन वा भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ ।

अप्पर मुस्ताङ

अप्पर मुस्ताङ धेरैले रूचाएको ट्रेकिङ गन्तव्य हो । प्राचीन माटोको पर्खाल र सहर, साँघुरा गल्ली, दरबार, गुम्बा यहाँका आकर्षण हुन् । भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै छ ।

अप्पर मुस्ताङ पदयात्रा क्रममा अन्नपूर्ण, निलगिरि लगायत हिमालका दृश्यहरू देखिन्छ । पहिलो दिन काठमाडौंदेखि पोखरा, दोस्रो दिन पोखराबाट कागबेनी हुँदै चेले, तेस्रो दिन जेलिंग हुँदै चाराङ लोमान्थाङ पुगिन्छ । अप्पर मुस्ताङको सबैभन्दा उचाइ लोमान्थाङ नै हो । लोमान्थाङबाट ढकमार, त्यसपछि स्याङ्बोचे, छुक्साङ, कागबेनी जोमसोमसम्म पैदल हुँदै गाडीमा पोखरा र काठमाडौं फर्किन सकिन्छ ।

शे-फोक्सुन्डो

काठमाडौंबाट नेपालगन्ज  र नेपालगन्जदेखि जुफालसम्म जहाजमा जान सकिन्छ । दोस्रो दिन सुलिघाटदेखि कागेनी हुँदै चुनुवार र तेस्रो दिन चुनुवारदेखि फोक्सुन्डो तालसम्म पुगिनेछ । चौथो दिन फोक्सुन्डो भ्यू प्वाइन्ट पुग्न सकिन्छ ।

त्यस्तै पाँचौं दिन फोक्सुन्डोदेखि छेपकासम्मको पदयात्रा, छैटौं दिन छेपकादेखि जुफालसम्म आइपुगिन्छ ।

भोलिपल्ट जुफालदेखि नेपालगन्ज र काठमाडौंसम्म जहाजमा फर्किन सकिन्छ । फोक्सुन्डोको विशेषता भनेको राष्ट्रिय निकुञ्ज अवलोकनसँगै पदयात्राका क्रममा देखिने रिग्म गाउँ, गुम्बा र चैत्य हुन् ।

गोक्यो ताल, गोक्यो री

हिमाली क्षेत्रको अवलोकन र रमणीय ट्रेकिङ गर्न गोक्यो उपयुक्त हुन्छ । यो साहसिक ट्रेकिङ गन्तव्य हो । यहाँबाट सगरमाथा, चो ओयु, ल्होत्से र मकालु हिमाल अवलोकन गर्न सकिन्छ ।

पहिलो दिन काठमाडौंबाट लुक्लासम्म जहाजमार्फत् र सोही दिन फाकदिङसम्म ट्रेकमार्फत जान सकिन्छ । दोस्रो दिन फाकदिङदेखि नाम्चेबजार, तेस्रो दिन नाम्चे बजारदेखि थामे र चौथो दिन थामेदेखि खुम्जुङसम्म पुगिन्छ । त्यस्तै पाँचौं दिन खुम्जुङदेखि डोल हुँदै माछेर्मो र छैटौं दिन माछेर्मोदेखि गोक्यो ताल पुगिन्छ ।

गोक्यो तालबाट करिब तीनदेखि चार घन्टा ट्रेकिङपछि गोक्यो री पुगिन्छ । सातौं दिन गोक्योबाट माछेर्मो र आठौं दिन माछेर्मोदेखि नाम्चेबजार फर्किन सकिन्छ । नवौं दिन नाम्चेबजारदेखि लुक्ला पदयात्रा र भोलिपल्ट लुक्लाबाट जहाजमा काठमाडौं फर्किन सकिन्छ ।

-सेतोपाटी

Exit mobile version