- प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई बिदामा बस्न निर्देशन दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ताको अन्तिम तयारी गरेको बेला प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।
- चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामै साढे १५ अर्ब रुपैयाँ नाफा कमाएको नेपाल विद्युत् प्राधिकरण बिजुली महसुल बढाउने तयारीमा लागेको छ । यसअघि पनि विद्युत् महसुलमा गरिएको अत्यधिक वृद्धिकै कारण निरन्तर नाफामा रहेको प्राधिकरणले पुनः उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने तयारी गरेको हो ।
- फलाम तथा स्टिलजन्य उद्योगहरूको अनुगमन गर्नको लागि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले संसदीय उपसमिति गठन गर्ने भएको छ । आइतबार बसेको बैठकमा यस्ता उद्योगको गुणस्तर, श्रम सुरक्षा र प्रदूषणका सवालमा गुनासो आएको भन्दै उपसमिति बनाएर अध्ययन तथा अनुगमन गर्ने निर्णय गरेको हो ।
- पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ । पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए ।
- कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।
- करिब ६ महिनापछि कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको तेस्रो बैठक आह्वान गरिएको छ । फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी उक्त बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले तेस्रो बैठकको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सरकार प्रवक्ता कृष्ण जिसीले जानकारी दिइन् ।
- अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा नक्कली आइडीको प्रयोग गरी ४९ लाख बढी ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
- र, काठमाडौं उपत्यकाका कवाडी व्यवसायीहरुले आज पनि बिरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई सातदेखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक अनुरोध भनि पत्र पठाएसँगै व्यवसायीहरुले बिरोध प्रदर्शन शुरु गरेका हुन् ।