प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि बैठक बस्नेछ ।
आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी दोस्रो संसोधन विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित प्रतिपक्षी दलहरूले बालकुमारी घटना र अन्य विविध विषयमा सरकारको जवाफ माग गर्दै आएका छन् । अघिल्लो बैठकमा सभामुख देवराज घिमिरेले सरकारलाई आज (फागुन २१ )को बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन उपस्थित हुन रूलिङ गरेका थिए ।