एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार

नेपालगन्जस्थित भेरी अस्पतालमा पर्याप्त बेड नहुँदा यहाँ आउने गर्भवती तथा सुत्केरी महिलाहरुले समस्या झेल्नु परेको छ । अहिले जटिलखालका बिरामीलाई समेत बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । प्रसूतिका लागि अप्रेसनमा ६ वटा मात्र बेडको व्यवस्था छ ।

बाँकेमा भारतीय दूधको बिक्रीवितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगन्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्रीवितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले पालिका क्षेत्रभित्र रहेका विद्यालयहरुको वर्गीकरण गर्ने भएको छ । त्यसका लागि उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुसँग वर्गीकरण प्रयोजनका लागि फारामसमेत खुला गरेको छ ।

राप्तीसोनारी गाउँपालिकाले यहाँका सहकारी संस्थाहरुलाई कोपोमिस सफ्टवेयरमा आबद्ध गर्ने भएको छ । सहकारीलाई थप व्यवस्थित र मर्यादित बनाउन उक्त सफ्टवेयरमा आबद्ध गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताएका छन् ।

जानकी गाउँपालिका–१ का २३ वर्षीय मुनिर भन्ने अरमान खानलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोही वडाका ३२ वर्षीय बाटुर भन्ने ईसरार खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार हुने महाशिवरात्री पर्वका अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जले साताव्यापी नशामुक्त सचेतना कार्यक्रम आयोजना गरेको छ ।

र, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले कोहलपुरमा यही २४ देखि २५ गतेसम्म मिडिया सम्मेलन गर्न थालेको नेपाल प्रेस सेन्टरका केन्द्रीय सचिव सिराज खानले जानकारी दिए ।

Exit mobile version