- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
- दलहरु बीच धेरै विषय मिलाउन बाँकी रहेकाले नयाँ मन्त्रिपरिषद्ले पूर्णता पाउन समय लाग्ने देखिएको छ । एमाले–माओवादीसहितका सत्तारुढ चार राजनीतिक दल आन्तरिक समीकरण मिलाएर सरकारलाई पूर्णता दिने गृहकार्यमा जुटे पनि तत्काल सम्भव नहुने देखिएको हो । दल संख्या बढाउने, पावर सेयरिङ, नीति तथा कार्यक्रमको अवधारणा र राष्ट्रियसभाको निर्वाचन पूरा भएपछि सरकार विस्तार हुने बताइएको छ ।
- चीनले नेपालमा नयाँ सरकार गठन भएकोमा चासो प्रकट गरेको छ। मंगलबार बेइजिङमा आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारे प्रश्न सोधिएको थियो । जवाफमा चिनियाँ परराष्ट्र प्रवक्ता माओ निङले चीनले नेपालमा एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सहजरूपमा अगाडि बढ्ने आशा प्रकट गरिन् । नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहजरूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दल एकताबद्ध भई सहकार्य गर्ने विश्वास उनले व्यक्त गरिन् ।
- केन्द्रमा फेरिएको सत्ता समीकरण प्रदेशमा पनि कार्यान्वयन हुने भएपछि लुम्बिनीमा साना दलहरु निर्णायक बनेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो दल नेकपा एमालेका २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका तीनजना सांसद छन् । तीन दलका सांसद संख्या ४३ मात्र हुन्छ । अर्थात बहुमत पुग्न एक सांसदको कमी हुने अवस्था छ ।
- कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीनजना मन्त्रीहरूले राजीनामा दिएका छन् । अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले राजीनामा दिएका हुन् ।
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुईजना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरिएको हो ।
- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुईमन्त्री बर्खास्त गरेका छन् । माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थमन्त्री सुशीला सिम्खडालाई हटाएका हुन् । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि मुख्यमन्त्रीले मन्त्री फेरेका हुन् ।
- र, लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो ।