सरकारी अस्पतालमा भित्र्याइने स्वास्थ्य सम्बन्धित उपकरणहरू उपयोगिता कुनै न कुनै कारणले प्रभावित हुने गरेका छन् । सञ्चालनमा आएका केही दिनमै बिग्रेर थन्किन्छन्,कतै मर्मत सम्भारमा बजेट अभाव त कतै जनशक्ति अभावको जानकारी दिइने गर्दछ ।
भेरी अस्पताल नेपालगन्जमा लामो प्रयास पछि भित्र्याइएको एमआरआइ मेसिन अहिले प्रयोगविहीन अवस्थामा छ । गत माघ २५ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले सेवा शुभारम्भ गरेका एमआरआइ एक महिना पनि नचल्दै बिग्रेको हो । ४३ वटा सेवा दिने गरी सञ्चालन भएको एमआरआइ मेसिन सेवा सुरु गरेको केही दिनमै बिग्रको हो ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जंग रायमाझी प्राविधिक कारणले एमआरआइ मेसिन बिग्रेको र सञ्चालनका लागि प्रयासरत् रहेको बताउँछन् । ‘विद्युत अनियमित हुँदा एमआरआइमा प्राविधिक समस्या भएको प्राविधिकबाट जानकारी पाएका छौं’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रायमाझी भन्छन्, ‘जर्मनबाट भित्र्याइएको मेसिन भएकाले मर्मतको सामाग्री समेत त्यहीबाट मगाउनु पर्ने अवस्था छ ।’
केही दिनपछि सञ्चालनमा आएको मेसिन मर्मतका लागि ३० देखि ४० लाख खर्च भएको बताइन्छ । यद्यपि, एमआरआइ तत्काल सञ्चालनमा आउनेमा आशंका छ । ‘मर्मत पछि परीक्षण गरिएकोमा केही समस्या देखिएको छ, समाधान प्रयासमा छौं’, मेसु रायमाझी भन्छन् ।
करिब २४ करोडको एमआरआइ मेसिन सञ्चालनका लागि यसअघि नै प्राविधिक रूपमा पूर्ण तयार नहुँदा समस्या आएको बताइन्छ । विद्युत समस्यामा समस्या इन्भटर, जेनेटरेटरको प्रयोगबाट हुनसक्नेमा अस्पतालमा तत्काल त्यता तर्फ ध्यान नदिएको हो । ‘जेनेटर प्रयोग छ, उपयोगमा ल्याउन सकिन्छ’, अस्पतालका मेसु रायमाझी भन्छन्, ‘प्राविधिक जनशक्ति समस्या हुनसक्छ ।’