मानव बेचबिखनको अभियोगमा युवक पक्राउ

मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ का २५ वर्षीय रिकमन राई रहेका छन् ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ परेका राईले बुटवलको कपडा पसलमा काममा लगाइदिने भन्दै भारत पुर्‍याएका थिए । उनलाई मानव बेचबिखन गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले प्रहरी वृत्त कालीमाटीको सहयोगमा पक्राउ गरेको हो । राईले सामाजिक सञ्जालमार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाइदिने प्रलोभनमा भारतको मुजफ्फरपुर लगेर बन्धक बनाइ राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । उनी त्यसपछि फरार रहेका थिए ।

राई उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता ढकालले बताए ।

Exit mobile version