विकास बहादुर सिंह
विद्यालय स्थापनाको १५ वर्ष पुगेछ । १५ औं बार्षिकोत्सवमा के के गर्दै हुनुहुन्छ ?
शनिबार हाम्रो विद्यालयको १५औं बार्षिकोत्सव हो । त्यस अवसरमा अभिभावक, विद्यार्थीहरु बोलाएर यो बर्ष भित्र के कस्तो भयो जानकारी दिने र विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र शैक्षिक तर्फको पुरस्कार वितरण गर्ने कार्यक्रम हुन्छ । विद्यार्थीहरु आफ्ना सिर्जनात्मक प्रस्तुतिमा रमाउने पनि छन् ।
स्थापनाको १५ वर्ष पुगिरहँदा गोल्डेन एबिसीका इतिहासलाई कसरी सम्झनुहुन्छ ?
गोल्डेन एबिसी समावेशी किसिमले शिक्षा दिऔं भनेर सञ्चालनमा ल्याएका हौं । खासगरी पिछडिएको वर्ग मुस्लिम, मधेसी तथा पहाडी समुदाय समेटेर सस्तो, सुलभ समावेशी तरिकाले सञ्चालन गर्न गोल्डेन एबिसीको स्थापना गरेका हौं ।
हामीले मेहेनत गरेर अगाडि बढाएका छौं । अहिलेसम्म राम्रो परिणाम आइरहेको छ । हाम्रा विद्यार्थी तथा अभिभावकले पनि राम्रो गरिरहनु भएको छ । सम्पूर्ण रुपमा गोल्डेन एबिसीलाई हामीले एउटा राम्रो स्कुलका रुपमा खडा गर्न सकेका छौं । र, आगामी दिनमा पनि प्रयास गरेर अगाडि बढाइरहने छौं । हिजोको दिनमा साह्रै मेहनत गर्यौं गोल्डेन एबिसी स्थापना गर्नका लागि । हामीलाई सुरुमा कतिपय ठाउँमा गाह्रो पनि भएको हो । हाम्रो टिमले समस्याहरुलाई छिचोल्दै यहाँसम्म आइपुगेको हो ।
विद्यालयमा सिकाई पद्धती वा शिक्षण विधि कसरी स्थापित गर्नु भएको छ ?
पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलाप पनि शिक्षाकै एउटा पाटो हो भन्ने हाम्रो मान्यता छ । विद्यालयमा पठनपाठन बाहेक स्कुल भित्र इन्डोर, आउटडोर गेम हुने गरेको छ । जस्तो क्वीज, खेलकुद, होम साइन्स तर्फ अतिरिक्त गतिविधि हुन्छन् । प्रत्येक बुधबार अतिरिक्त क्रियाकलपाका गतिविधि गराउने गरेका छौं ।
विद्यार्थीहरुमा परम्परागत विषयवस्तुमा धेरै कमजोरी पाइयो । जहाँ अनुशासन, होम साइन्समा पनि कमी आइरहेको छ । विद्यार्थीहरुलाई चिया पकाउ, खाना पकाउ भन्यो भने पनि सक्दैनन् । यो कल्चर लोप भैसकेको छ । यो पनि एउटा शिक्षाको पाटो हो । त्यसैले व्यवहारिक ज्ञान पनि निकै महत्वपूर्ण छ । त्यो महसुस गरेर समयानुकुल परम्परागत सिप सिकाउने गरिरहेका छौं ।
व्यवहारिक शिक्षाका लागि अहिलेको विद्यमान पाठ्यक्रम अनि नीतिगतको अवस्था के हो ?
शिक्षा भनेको किताबी ज्ञानलाई मात्रै लिइरहेका छौं । जे पढ्यो त्यसैलाई मात्रै शिक्षाका रुपमा बुझिरहेका छौं । शिक्षा भनेको एउटा ज्ञान हो । ज्ञान भनेको म्याथम्याटिकल होस्, साइन्टिफिक होस्, इङलिस होस् वा कुनै भाषाको होस्, होम साइन्स होस्, खाना पकाउने प्रवृत्ति होस्, कुनै पनि चिजलाई हामी शिक्षासँग जोड्न सक्छौं । यि सबै कुरा शिक्षा नै हुन् ।
अहिले पाठ्यक्रम अझै पर्याप्त छैनन्, मेरो अनुभवका हिसाबले । केही कुरा छन्, तर ति सबै छरिएर रहेका छन् । त्यसलाई संगठित, व्यवस्थित नराखेको हुनाले यो पाठ्यक्रमले विद्यार्थीलाई बहुत राम्रो किसिमले एउटा अर्डर गर्न नसकेको अवस्था रहेको मलाई महसुस भएको छ । यसमा के हुनुपर्छ भने केही मोर्डन एजुकेशन पनि अहिलेको समयमा आवश्यक छ । त्यसको साथसाथै हामीले होम साइन्स, अतिरिक्त क्रियाकलाप जस्तो, टोय, दुना टपरी बनाउने, सरसफाई गर्ने लगायत पनि शिक्षा भित्र पर्दछ । त्यो ज्ञान पनि लिनुपर्ने आवश्यक छ । हाम्रो करिकुलममा एकपछि अर्को राम्रो किसिमले राखिएको छैन, छरिएर राखिएको छ । मोर्डन एजुकेशन सँगसँगै टे«डिसनल एजुकेशन पनि हुनुपर्छ । बराबरी महत्व दिएर जानुपर्छ ।
जे कुरा पनि व्यवस्थित तरिकाले राखियो भने एकदम राम्रो किसिमले हुन आउँछ । हाम्रो अझै पनि शिक्षा नीतिहरुमा पाठ्यक्रममा केही राम्रा कुराहरु त छन्, तर, सिष्टमेटिक तरिकाले मिलाउन नसकेको हुनाले कही कही शिक्षामा अलि कमी देखिएको छ ।
सुधारको कुुरा एउटा विद्यालय नेतृत्वबाट कत्तिको सम्भव हुन्छ ?
व्यक्तिगत आफ्नो स्कुलमा लागु गर्न त सम्भव छ । तर, त्यसका लागि म्यानेजमेन्टमा बस्ने व्यक्तिको दक्षता कत्तिको छ भन्ने पनि हुन्छ । कत्तिको प्लानिङ वेमा काम गर्न सक्छ भन्ने कुरामा जाने हो । तर, यही कुरा शिक्षा पोलिसी भित्र राखिदिने हो भने र अलिकति वर्कशप, टे«निङ्ग गर्ने, राम्रो टे«नर भैदियो भने राष्ट्रव्यापी तरिकाले शिक्षा लागु हुनसक्छ । व्यक्तिगत स्कुलमा मात्र लागु गर्दा स्कुल सफल हुनसक्छ ।
यस्ता कुराहरु नीतिगत तहमै सुधार गरेर जानुपर्छ । शिक्षा आफ्नो र आफ्नो घरको लागि मात्रै होइन, त्यो समाज, राष्ट्र र संसारका लागि हो । त्यसैले शिक्षाको नीति राम्रो हुनुपर्छ, शिक्षा नीति राम्रो भयो भने सबैलाई राम्रो हुन्छ ।
प्लस टु पछि विद्यार्थी विदेश पलायनको अवस्था छ ? किन होला ?
विद्यार्थी पलायन हुनुको खास कारण देशको राजनीतिक अवस्था राम्रो नहुनु हो । राजनीतिक अवस्था राम्रो छैन भनेर अभिभावकले नै आफ्नो बालबच्चा विदेश नै जाउन् भन्ने मनशायले पनि एउटा कारक त्यो पनि हो ।
अर्को शिक्षा नीति राम्रो नहुनु पनि हो । शिक्षा नीति राम्रो नहुँदा पनि विद्यार्थी विदेश पलायन भैरहेका हुन् । राजनीतिक अवस्था र शिक्षा नीति विद्यार्थी पलायनको प्रमुख कारण हुन् ।
नेपाल विद्यार्थी रुक्दैनन् नै भन्ने होइन, उनीहरु नेपालमै बसेर पढ्न चाहन्छन् । तर, त्यसको वातावरण तयार हुनुपर्यो । त्यसका लागि शिक्षा नीति र राजनीतिक सुधार आवश्यक छ ।
अन्त्यमा, अब कसरी अगाडि बढ्दैछ गोल्डेन एबिसी ?
हाम्रो अनुभव, मेहनत, भौतिक लगानीले विद्यार्थीको भविष्य बनाउन कटिबद्ध छौं । भोलिका दिनमा प्लस टु हुन्छ होला, त्यो भन्दा माथि पनि होला । सबै किसिमले हामीले प्रयास गर्छौ । उच्च शिक्षा गोल्डेन एबिसीमै होस् भन्ने हामी प्रयासमा छौं ।