कोहलपुरमा दलित जागरणसभा सम्पन्न

कोहलपुर चौराहमा शनिबार दलित जागरणसभा सम्पन्न भएको छ । दलितका लागि दलित अभियानअन्तर्गत आफ्नो लागि आफैँ भन्ने नारासहित कोहलपुरमा उक्त सभा सम्पन्न भएको हो ।

उक्त जागरणसभाका वक्ताहरुले सदियौंदेखि दलित अपहेलित भएर बाँचिरहेकाले अब आफ्नो अधिकारका लागि आफैँले आवाज उठाउनु पर्ने बताएका छन् । २१औँ शताब्दीमा समेत दलित राज्यको मूल प्रवाहमा आउने नसकेको दुखेसो पोख्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । सभ्य र सम्मानित समाजका लागि जातीय विभेद् अन्त्य हुनु पर्ने भए पनि दलित समुदायले अहिले पनि छुवाछुत जस्तो कूप्रथा सहनु परेको उनीहरु भनाइ छ । दलित अधिकारको माग गर्नु अरु समुदायको अधिकार नखोस्नु र उनीहरुलाई अपमानित नगर्नु भएको भन्दै दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले भने, ‘अधिकारका लागि गाउँगाउँबाट आवाज उठाउनु पर्छ ।’ अधिकारका लागि नबोल्दासम्म विभेद्को चपेटामा पिल्सिनु पर्ने भन्दै अब दलितहरु एक भएर अगाडि बढ्नु पर्ने उनले बताए ।

डा. निर्मल विश्वकर्माले दलितलाई राज्यले अधिकार सम्पन्न गराउनु पर्ने बताए । त्यस्तै दलित महिना नेतृ तथा पूर्व खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले व्यवस्था परिवर्तन भए पनि दलितहरुको अवस्था उस्तै रहेको बताइन् ।

यसै पनि दलित तथा अन्य सीमान्तकृत समुदायले अहिलेको व्यवस्थामा पनि बहिष्करण महसुस गरेको दलित अगुवाहरुको भनाइ छ । संविधानले यसमा केही सुधार हुने आशा जगाएको थियो तर पार्टी नेताहरूले संविधानका प्रावधानहरूको उपेक्षा गर्ने गरेको उनीहरुको भनाइ छ । यस्तो उपेक्षित व्यवहार संविधान विरोधी भएको उनीहरुको ठहर छ ।

Exit mobile version