नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा रहेको दैलेखी बंगलामा संग्रालय बनाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले संग्रालयका लागि बजेट विनियोजन गरेपछि संग्रालय बनाउने निश्चित भएको दैलेखी समाजले बताएको छ ।
‘दैलेख र नेपालगन्जको पुरातात्विक तथा ऐतिहासिक वास्तुकला र बाँकेका पर्यटकीय वस्तुहरूको संकलन गरी संग्राहलयमा राखिने छ’, दैलेखी समाजका सल्लाहकार हरि तिमिल्सिनाले भने, ‘समाजको सोमबार भएको बार्षिक साधारणसभाले समेत त्यसबारे निर्णय गरेको छ ।’
समाजका अध्यक्ष पूर्णदेव गिरीको अध्यक्षतामा भएको साधारणसभा बोल्दै नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले दैलेखी बंगलामा संग्राहलय बनाउन आवश्यक बजेट विनियोजन गरेको बताएका थिए । उनले दैलेख–नेपालगन्ज दुवै ठाउँको ऐतिहासिक चिनारी संग्राहलयमा राखिने बताए ।
साधारणसभामा संस्थाको बार्षिक, आर्थिक तथा सांगठनिक विवरण प्रस्तुत गर्दै पारित गरिएको थियो । त्यस्तै, साधारणसभाले सल्लाहकार तिमिल्सिनाले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।
कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, संस्थाका संस्थापक अध्यक्ष दिपक शाही, सहायक प्रजिअ जोरा सिंह माझी, पूर्व मन्त्री आरती पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहसचिव विरेन्द्र कुमार मल्लले गरेका थिए ।