नेपालगन्जस्थित राँझा विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुडा भएको छ । करिब एक हप्ता अघिको घटना भए पनि आज मात्र दैनिक नेपालगन्जलाई उक्त जानकारी प्राप्त भएको छ । विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनमा काम गरिरहेका चारजना भारतीय कामदारले प्रहरी पोष्टमाथि ढुंगामुडा गरेका हुन् ।
विमानस्थलका वरिष्ठ सई सन्तोष शाहका अनुसार त्यस दिन भारतीय कामदार मादक पदार्थ सेवन गरेर विमानस्थल प्रवेश गर्दै थिए । विमानस्थल गेटमा सुरक्षाकर्मीले मादक पदार्थ सेवन नगर्न र होहल्ला नगर्न सुझाव दिएका थिए । रक्सीको नसामा लठ्ठ परेका उनीहरु उल्टै प्रहरीमाथि खनिए । टर्मिनल भवन निर्माणमा परिचालन भएका कामदारहरुका लागि विमानसस्थलभित्रको खाली जग्गामा टेन्टको अस्थायी निवास बनाइएको छ । उनीहरुले दैनिकजसो सम्वेदनशील मानिने विमानस्थलभित्र मादक पदार्थ सेवन गरेर आउने र होहल्ला गर्ने भएपछि प्रहरीले उनीहरुलाई साँझको ८ बजेभित्र विमानस्थलभित्र निर्माण गरिएको बासस्थलमा प्रवेश गर्ने नियम बनाएको छ ।
प्रहरीले यसलाई कडाइ गर्न थालेपछि उनीहरु प्रहरीमाथि ढुंगामुडा गरेको बुझिएको छ । ‘साँझपख विमानस्थलको पार्किङतिर उनीहरु बसेका हुन्छन्,’ वरिष्ठ सई शाहले भने, ‘एकजना हवल्दारले उनीहरुलाई बासस्थानतिर पठाउँदै हुनुहुन्थ्यो । उनीहरुले हवल्दारलाई एक्लै देखेर विवाद सिर्जना गरे ।’ त्यसको केही समयपछि करिब सवा ९ बजेतिर उनीहरुले प्रहरी पोष्टको गेटसम्म पुगेका उनको भनाइ छ ।
विमानस्थलभित्र होहल्ला गर्ने दिपेन्द्रकुमार गौतम, विनयकुमार गौतम, प्रदीपकुमार राजबर र ओमप्रकाश राजबरलाई प्रक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।