आज विश्व उपभोक्ता अधिकार विश्वभर उपभोक्ता अधिकारका विषयमा बहस, छलफल, अन्तरक्रिया, सचेतनामूलक र्याली आयोजना गरेर मनाइँदैछ ।
उपभोक्ताको गुणस्तरीय सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न राज्यका निकाय मात्रै नभई स्वयं उपभोक्ता समेत जागरुक हुन आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतम बताउँछन् । ‘उपभोक्तालाई जागरुक बनाउन आवश्यक छ’, उनी भन्छन्, ‘गुणस्तरीय सेवाको सुनिश्चितताका लागि राज्यका निकायहरू, सेवा प्रदान गर्नेहरूले कानुन, ऐन नियमको पालना गर्ने र गराउन जिम्मेवार हुनुपर्छ ।’
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष गौतम उपभोक्ता ठगिएको महसुस गर्दा वा बजारमा त्यसखालको प्रवृत्ति देखे सरोकारवाला निकायमा तत्कालै उजुरी गर्नु पर्ने बताउँछन् । ‘मालसामान खरिद गर्दा त्यसमा रहेको लेबल हेर्ने, मूल्य हेर्ने, खाद्य पदार्थ कस्तो छ, कसरी बनाइएको छ चासो राख्नु पर्दछ’, उनी भन्छन् ।
बाँकेमा बजार अनुगमनका लागि स्थानीय तह, विषयगत कार्यालय, जिल्ला प्रशासन अन्तर्गतको संयुक्त बजार अनुगमन समिति रहेको छ । आफ्नै योजना अनुसार कार्यालयहरूले अनुगमन गरेर बजारमा भेटिने बेथितिमा कारवाही गरेपनि उपभोक्ताले गुनासो तथा उजुरी गर्ने कार्य भने निकै न्यून रहेको पाइन्छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल बस्तु तथा सेवाको खरिदमा ठगिएको महसुस गरे तत्कालै उजुरी गर्न आग्रह गर्छन् । ‘उजुरी सम्बन्धित कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा गर्न सकिन्छ’, उनी भन्छन्, ‘सिधै प्रमुख जिल्ला अधिकारीको नम्बरमा फोन तथा ह्वाटशप गर्दा पनि हामी त्यसमा कारवाही गर्छौं ।’ उनले उजुरी गर्ने बानीको विकास उपभोक्ताले गर्न आवश्यक रहेको बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले नियमित बजार अनुगमन हुने गरेपनि उपभोक्ताबाट निकै कम उजुरी प्राप्त हुने गरेको बताउँछन् । ‘केही अधिकारीकर्मी, अभियन्ताले जानकारी गराउनु हुन्छ, सामाजिक सञ्जालमा लेखिएको पाइन्छ, तर कार्यालयमै उजुरी गर्नेको संख्या निकै कम छ’, उनी भन्छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देविलाल चौलागाई उपभोक्ताबाट गुनासो आउने गरेपनि संख्यात्मक रूपमा न्यून रहेको बताउँछन् । ‘कसैले गुनोसो गरे अनुगमन हुन्छ, त्यसबाहेक पनि अनुगमन हाम्रो कार्ययोजनामा हुने गरेको छ, त्यसै अनुसार अनुगमन भैरहेको हुन्छ ।’