होटल व्यवसायी संघ, नेपालगन्ज बाँकेको १९ औं वार्षिक साधारणसभा आज शुक्रवार नेपालगन्जमा आयोजना गरिंदैछ । जिल्लाका बहुसंख्यक होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठित संघले आफ्ना सदस्य, व्यवसायीका हकहितमा गरिरहेको कामदेखि व्यवसायीले झेल्नु परेका समस्याबारे अध्यक्ष रंगबहादुर खड्काले दैनिक नेपालगन्जसँग खुलेर कुरा गरेका छन् । स्थानीय सरकारले गरेको असहयोगदेखि व्यवसायिक क्षेत्रमा देखिएका सकारात्मक सम्भावनासम्म गरिएका कुराकानीको संक्षेप आजको अंकमा ।
साधारणसभा गर्दै हुनुहुन्छ, खास ऐजेन्डा छन् की ?
हामीले १९ औं साधारणसभामा तमाम ऐजेन्डामा छलफल गर्दैछौं । विगतको समीक्षा र आगामी कार्यायोजनानै साधारण सभामा मुख्य विषवस्तु भएकाले त्यही ति तमाम ऐजेन्डाले प्रवेश पाउनेछन् ।
औपचारिक समारोहमा ज्येष्ठ सदस्यलाई सम्मान गर्ने कार्यक्रम छ । दुई जना ज्येष्ठ होटल व्यवसायी र सफल दुई होटल व्यवसायी, टोल कमिटिका दुई जनालाई सम्मान गर्नेछौं । त्यस बाहेक औपचारिक कार्यक्रम र बार्षिक गतिविधि प्रस्तुत हुनेछ । आगामी भावी कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।
हामीले यस बर्ष विभिन्न सिर्जनात्मक तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रम गरेका छौं ।
साधारणसभामा अक्षय कोषको प्रस्ताव पनि गर्नेछौं । संघका पूर्व अध्यक्ष स्वर्गीय डिल्ली बिक्रम मल्लको स्मृतिमा अक्षयकोष स्थापना गरिंदैछ । त्यसका लागि संघले १ लाख रकम राखेर कोष सञ्चालन सुरु गर्ने प्रस्ताव गर्नेछौं ।
दक्ष जनशक्ति उत्पादन, सेवाग्राही सीपमूलक साक्षरता अभिमूखिकरण गर्ने भन्ने कार्यक्रम पनि प्रस्ताव हुनेछ । त्यस्तै, संस्थागत रूपमा लुम्बिनी प्रदेशको प्राकृतिक आन्तरिक पर्यटन भ्रमण गर्ने भन्ने कार्यक्रम रहेको छ ।
व्यवसायिक प्रवद्र्धनात्मक योजना ?
त्यसका लागि त संघ सधैं जिम्मेवार भएर लागेकै छ । नेपालगन्जलाई कसरी चलायमान बनाउने भन्नेतर्फका हरेक पहल र प्रयासमा हामी सधैं साथमा छौं । संघले नेपालगन्ज–दिल्ली उडानका लागि दबाब सिर्जना गर्ने भावी योजना अघि सार्दैछ । त्यसमा सबै क्षेत्रलाई जोडेर स्थानीय तहदेखि केन्द्र सरकारसम्मलाई आवश्यक पहलकदमीका लागि दबाब दिनैपर्ने देखिएकाले हामी त्यसतर्फ केन्द्रीत गर्न यो साधारणसभाले थप उर्जा दिने विश्वास छ ।
नेपालगन्ज–दिल्ली उडान भए होटललाई कस्तो प्रभाव पार्ला ?
भारत अथवा त्यहाँको सहर दिल्लीबाट नेपालगन्ज धार्मिक तथा प्राकृतिक पर्यटक भित्र्याउने सकिए नेपालगन्जका स्तरीय र मध्य तथा निम्न वर्गीय होटलले लाभ पाउँछन् भन्ने हाम्रो विश्वास छ । त्यसका लागि अबौं लगानीका पूर्वाधार नेपालगन्जमा तयार पनि भइसकेकाले सरकारले त्यसको सुरक्षित भविष्यका लागि पनि नेपालगन्जबाट विभिन्न भारतीय ठुला सहरसँग हवाइ सम्बन्ध जोड्ने योजनामा तत्काल काम गर्नुपर्छ । त्यसका लागि नेपालगन्ज विमानस्थलमा पनि राज्यले अर्बौं लगानी गरिसकेको छ । सरकार होस् वा व्यवसायी दुवैको लगानी सुरक्षाको जिम्मा राज्यले लिएर योजना बनाउनु पर्यो नि !
होटल तथा पर्यटनमा अहिलेको व्यवसायिक अवस्था के हो ?
पहिले भन्दा सुधारोन्मुख छ । मानसरोवर लगायतका यात्राका लागि भित्रिएका भारतीय पर्यटकले केही सकारात्मक प्रभाव त पारेको छ । उज्यालो बाटो देखाइरहेको छ ।
आन्तरिक पर्यटन व्यवसायमा एक ठाउँबाट अर्को ठाउँमा भ्रमण गर्न थालेको पाइएको छ । आन्तरिक पर्यटनले बाहिरको मुख नै ताक्नुपर्ने अवस्था छैन । स्थानीय नागरिकबाट पनि होटल व्यवसाय चल्ला भन्ने हामीले आशा गरेका छौं । त्यसमा सबै क्षेत्रको सकारात्मक वातावरण चाहिं आवश्यक हुन्छ ।
समस्या के हो होटलको ?
भारतीय सीमा क्षेत्रमा गरिएको कडाईले समस्या देखा पारेको छ । निम्न व्यवसायीलाई रूपैडिहाको कडाईले प्रत्यक्ष असर पारेको छ । भारत जान र आउन आइडीका कारण समस्या झेल्नुपर्ने अवस्था छ । त्यसो हुँदा सामान्य मानिसहरू नेपाल आउन हिच्किचाइरहेका हुन्छन् ।
उच्च स्तरका ग्राहकलाई पनि भारतीय तथा नेपाली सुरक्षाकर्मीहरूले धेरै ठाउँमा चेक गरेर झन्झटिलो बनाउँदा पनि नेपाल आउन निरुत्साहित पारिएको छ । त्यसको प्रत्यक्ष असर यहाँका व्यवसायमा परेको छ । त्यो तत्काल सहजीकरण गरि भारतीयहरू नेपाल आउने सहज वातावरण दुवै देशका सुरक्षा अधिकारीले बनाइदिनुपर्छ ।
समग्रमा के गरे सुधारिएला व्यवसायिक अवस्था ?
सरकारले व्यवसायीको अभिभावकत्व निर्वाह गरिदिनुपर्छ । हाम्रो लगानीको सुरक्षा गरिदिनु पर्यो । व्यवसायी समस्यामा पर्दा सरकारलाई पनि त असर पर्छ नि ! मर्का बुझेर सहजीकरण गरिदिनु प¥यो । कर प्रणालीलाई एकद्वार बनाए सहज हुन्थ्यो व्यवसायीलाई । झन्झटिलो प्रक्रियाले पनि होटल व्यवसायमा हात हाल्न गाह्रो मान्ने गरेका छन् । यति ठुलो लगानीको क्षेत्रलाई सरकारले बेवास्ता गरिदिनु भएन ।