माग बढेपछि प्लाइउड भारत निकासी गरिरहेका नेपाली उद्योग सञ्चालक खुशी
दुईसाता अघि एकाएक रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । केहीवर्ष यता नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले गरेको अवरोध शुक्रवार हटाएको हो ।
भारत सरकारले प्लाइउड, बोर्ड र डोरमा एक वर्ष बिआइएस मापदण्डको लागि म्याद थप गर्ने निर्णय गरेका कारण अवरोध टरेको हो । नेपाली प्लाइउड इन्डस्ट्रीको लागी ठुलो राहतको निर्णय भएको जानकारी दिंदै ओम प्लाइका सञ्चालक पशुपति दयाल मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘यसले नेपाली प्लाइ उद्योगका लागि निकै ठुलो राहत दिएको छ । ‘यो हाम्रालागि खुशीको कुरा हो,’ ओम प्लाई एन्ड फर्निचर प्रालिका सञ्चालक मिश्रको भनाइ छ । ओम प्लाइले मात्रै गत वर्ष ४ करोडबढीको प्लाइ भारत निकासी गरेको थियो ।
भारत सरकारको निर्णयसँगै नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी मार्च १ तारिख देखि रोकिएको थियो ।
भारतले गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै निर्यात रोकेको थियो । ‘निर्यातमात्रै होइन, भारतकै उद्योगका लागि पनि अनिवार्य थियो,’ मिश्रले भने, ‘अब त्यसको म्याद एक वर्षका लागि थपिएको छ, त्यतिन्जेलमा गुणस्तर प्रमाण चिन्ह अनिवार्य लिइसक्नुपर्छ ।’
भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेबु्रअरी २८ पछि प्लाइउडमा बिआइएस प्रमाण अनिवार्य गरिएको जनाएको थियो । सोही सूचना रद्द गर्दै शुक्रवार एक वर्षका लागि म्याद थप्ने निर्णय गरिएको हो । सम्बद्ध उद्योग सञ्चालकका अनुसार, भारतको वन मन्त्रालयले आगामी ५ वर्षसम्म वन कटान नगर्ने र जंगल संरक्षण गर्ने नीति अघि सारेपछि नेपालबाट प्लाइउड आयात गरेर त्यहाँको माग धान्दै आएको छ ।
शिखर प्लाई उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्न अनिवार्य गरिंदा रोकिएको निर्यात अब सुचारु हुने विश्वास व्यक्त गरे । नेपाल सरकारसँग आवश्यक समन्वय गरेर भारत सरकारले गरेको निर्णयले उत्पन्न समस्या तत्काल समाधान गर्न व्यवसायीले गुहार लगाउँदै आएका थिए ।
त्यसबीच पनि नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिमको नेपालगन्ज नाकाबाट भने रोकिएको थियो ।
नेपालबाट गत वर्ष पौने ५ अर्बको प्लाइउड निकासी गरिएको थियो । नेपाल प्लाइउड संघले यो वर्ष करिब ८ अर्बको प्लाइउड निकासी गर्ने लक्ष्य व्यवसायीको रहेको जनाएको छ ।
संघका पूर्व अध्यक्षसमेतत रहेका चम्पालाल बोथरा भन्छन्, ‘भारतमा नेपाली प्लाइउडको माग उच्च छ, सरकारले सहजीकरण गरेर अवरोध आउन दिनुहुन्न ।’ शिखरलेमात्रै गत वर्ष साढे २ करोडको प्लाइ नेपालगन्ज नाकाबाट भारत निकासी गरेको बोथराले जानकारी दिए ।