बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पक्राउ परेकी मनकुमारी सिंहसँग एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । धरौटी बुझाएर उनी छुटिसकेकी छन् ।

दैलेख नौमुले गाउँपालिका-१ घर भई काठमाडौं काँडाघारी बस्ने २४ वर्षीया मनकुमारीले फागुन ११ गते प्रसुति गृह थापाथलीबाट बच्चा चोरी गरेकी थिइन् ।

बच्चा चोरी भएपछि प्रहरीले उनलाई त्यही राति पक्राउ गरेको थियो । बच्चाको पनि उद्धार भएको थियो ।

प्रहरी वृत्त सिंहदरबारले उनीविरूद्ध अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान गरी चैत २ गते मुद्दा दायर गरेको थियो । त्यसमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

Exit mobile version