हवाईसेवा प्रयोग गर्दा उपभोक्ताले पाउनु पर्ने सेवासुविधा लगायतका विषय समेटेर उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर गरिएको सार्वजनिक सरोकारको रिटमा अदालतले केही विषयहरूमा अन्तरिम आदेश जारी गरेको छ ।
पार्किङ्ग शुल्क, हवाई सेवाको गुणस्तर र बिमानस्थल भित्रको बिभिन्न क्षेत्रका गरिनु पर्ने सुधारका बिषयमा दायर सार्वजनिक सरोकारको रिटमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले बिपक्षीका नाउमा बिमानस्थलका क्यान्टिनमा अनिवार्य रूपमा मूल्य सूचि राख्न र सूर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय किरण कुमारी गुप्ता र बसन्तराज पौडेलको संयुक्त इजलासले बिपक्षीका नाममा बिमानस्थलको खाजा घर (क्यान्टिनमा) बेचिने बस्तुको अनिवार्य रूपमा मूल्य सूचि राख्न र बिमानस्थल परिसरमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने आदेश गरेको रिट निवेदक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । अन्तरिम आदेशको रूपमा तत्काल उल्लेखित बिषयमा आदेश भएको मुद्दाको अन्तिम सुनुवाई पश्चात माग दावी गरेका अन्य सवालमा समेत बिपक्षीका नाममा आदेश हुन सक्ने अधिवक्ता गौतमले बताए ।
मुद्दामा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालय, कार्यालयका प्रमुख, विमानस्थल भित्र सवारी पार्किङ्ग गर्ने सार्थक टे«ड सेन्टर एण्ड सप्लायर्स, बुद्ध, यति, श्री, सिता, तारा, समिट, गुण एयरलाइन्स प्रा.लि, नेपाल वायुसेवा निगम शाखा कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय, बाँके समेतलाई बिपक्षी बनाई रिट निवेदकहरूले उत्प्रेषण र परमादेश समेतको रिट निवेदन दायर गरेका थिए ।
पार्किङ शुल्क, हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी र अधिकारकर्मीले हवाई सुशासन र उपभोक्ता अधिकारको संरक्षण र गुणस्तरिय सेवाको माग राख्दै रिट दायर मुद्दाका रिट निवेदक बिकास आचार्यले जानकारी दिए ।
मुद्दामा रिट निवेदक अधिवक्ताहरूले बिमानस्थल भित्रका क्यान्टिनले लिने मनपरि शुल्क, खाद्यबस्तुको गुणस्तर, बिमानस्थलमा सामान ओसार्ने ट्रलीको कमि, हवाईजहाजले यात्रुलाई दिने सेवा सुबिधा गरेको कटौती लगायतका बिषयको उठान गरेका छन् ।
अन्तरिम आदेश जारी हुने नहुने बिषयमा भएको सुनुवाई मुद्दामा रिट निवेदक अधिवक्ताहरू सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह, बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी साथै हिरा श्रेष्ठ लगायतका अधिवक्ताले बहस गरेका थिए ।
नेपालगन्ज एयरपोर्ट भित्र लिइने पार्किङ्ग शुल्क, त्यसको सम्झौता लगायतका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सूचना माग गरेका कानून ब्यवसायीहरूले बिमानस्थलमा सुधार गरिनु पर्ने पक्ष, सेवाको गुणस्तर, बिमान डिले हुँदा यात्रुलाई समयमै दिईनु पर्ने सुचना, यात्रुलाई दिनु पर्ने सुबिधा, सेवाको गुणस्तरका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक सुरेश प्रसाद खनाल र एयरलाइन्सका प्रतिनिधिसंग छलफल गरेकोमा ठोस सुधार नभए पछि मुद्दामा जानु परेको रिट निवेदक कानून ब्यवसायीहरूले जनाएका छन् ।
नेपालगन्ज उच्च अदालत बार एशोसिएनका पूर्व अध्यक्ष अधिवक्ता विकास आचार्य, एडभोकेसी फोरमकाका तर्फबाट लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठका साथै अधिवक्ताहरू लोक बहादुर शाह, बल बहादुर चन्द, बिश्वजित तिवारी, सुनिता शर्मा, र नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, इन्सेकका प्रदेश संयोजक भोला महत लगायतले संयुक्त रूपमा अदालतमा रिट दायर गरेका थिए ।