बाँकेमा मनसुन पूर्वतयारी योजना बनाइँदै

जिल्ला विपद् व्यवस्थापन समितिले आगामी मनसुनबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुनसक्ने अनुमान गरेको छ । बुधबार भएको समितिको बैठकले १५ हजार परिवार प्रभावित हुनसक्ने पूर्वानुमानका आधारमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । बैठकले बैशाख मसान्तसम्म मनसुन पूर्वतयारी प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले हरेक बर्ष बार्षिक विपद् पूर्वतयारी प्रतिकार्य योजना बनाउने गरेको छ । समितिले आगामी बर्ष जिल्लामा हुने विपद्का घटनाबाट २५ हजार परिवार प्रभावित हुनसक्ने अनुमानका आधारमा पूर्वतयारीको योजना बनाउन लागेको छ ।

यसअघि समितिले गरेको निर्णय र त्यसको कार्यान्वयका साथै चिसो, शितलहरका बेला गरिएको राहत वितरण लगायतका विषयमा बैठकमा छलफल गर्दै विवरण सार्वजनिक गरिएको थियो ।
बैठकले आगामी बर्ष २०८१ का लागि विपद् व्यवस्थापनमा अगुवाई गर्नका लागि रेडक्रस, बी गु्रप बाँके, मानवीय साझेदारी मञ्च, सेभ द चिल्डे«लाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
जाजरकोट भुकम्प प्रभावितहरूका लागि राहत सामाग्री ढुवानीका लागि खटिएका सुरक्षाकर्मीको खाजा खाना बापत ६४ हजार ८ सय भुक्तानी, भुकम्प प्रभावति जाजरकोट र रुकुम पश्चिम जिल्लामा राहत सामाग्री ट्रक व्यवसायी समितिमार्फत भुक्तानी ३ लाख ७८ हजार, जिल्ला विपद् व्यवस्थापन समिति बाँके मार्फत शितलहर तथा चिसो प्रभावितहरूका लागि कम्बल खरिदको भुक्तानी खर्च ४ लाख ७४ हजार ९ सय ५५ भएको विवरण बैठकमा जानकारी दिइएको थियो ।

बैठकले आ।ब। २०८०÷०८१ को श्रावण देखि हालसम्म जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आगलागी प्रभावित ७ परिवारका लागि ४३ हजार, हावाहुरीबाट प्रभावित १ परिवारका लागि ५ हजार, बाढी तथा डुवान प्रभावित ३० परिवारका लागि ४ लाख ५० हजार समेत जम्मा ४ लाख ९८ हजार वितरण भएको खर्च अनुमोदन गरिएको थियो ।

बैठकले गर्मी मौसम सुरु भैसकेकाले आगलागी तथा डढेलोको पूर्वतयारी तथा जोखिम न्यूनिकरणका सबै स्थानीय तहले पनि आफ्नो कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने, आगलागी, लू, डढेलो रोकथाम तथा नियन्त्रणको लागि विभिन्न भाषामा जनचेतनामूलक सन्देश तयार गरी प्रकाशन तथा प्रशारण गर्ने ब्यवस्था मिलाउने, सबै सामुदायिक तथा निजी बिद्यालयहरूमा सचेतना वृद्धि हुने अभियान सञ्चालन गर्ने, आगलागी नियन्त्रणको लागि जिल्लामा भएका दमकलहरू तयारी अवस्थामा राख्ने तथा छिमेकी जिल्लाका दमकलहरूको सूचि अद्यावधिक गर्ने निर्णय पनि गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीका अनुसार, बाँके तथा वर्दिया राष्ट्रिय निकुञ्जमा हरेक बर्ष आगलागी भैरहने र त्यसको प्रभाव नजिकको समुदायहरूमा पर्ने भएकोले सोको रोकथाम र नियन्त्रणका लागि स्थानीय तहहरूसंग समन्वय गरि कार्य गर्न जिल्ला विपद् व्यवस्थापन समिति मार्फत निकुञ्जलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा भएको बैठकले विपद् व्यवस्थापनका सम्बन्धमा पूर्व तयारीका लागि विविध निर्णय गरेको हो ।

Exit mobile version