सिद्धार्थ हस्पिटालिटी ग्रुपले सन्चालनमा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ ।
सिद्धार्थले दिएको जानकारी अनुसार, पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागलाई उद्धृत गर्दै सिद्धार्थले भनेको छ ।
सिद्धार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड ‘भिलासा’ मा करिब ५ बिगाहा क्षेत्रफलमा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरि ८५ वटा रुम रहेको जानकारी दिए ।
होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । होटलमा पन्ध्र सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिद्धार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
स्थापनाको छोटो समयमै ’डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरि त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरु बिच लोकप्रिय भैरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए ।
होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुबिधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए ।
यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले सिद्धार्थ ग्रुपले ’भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको बताए ।