लुम्बिनी प्रदेशको नवगठित सरकारमा को को मन्त्री बन्छन् ? मुख्यमन्त्री नियुक्तीसंगैको चर्चा त्यतातिर केन्द्रीत छ । त्यसमा पनि बाँकेबाट मन्त्री बन्न चर्चामा रहेका र कसरत गरिरहेकाहरुको सूचीपनि सानो छैन ।
लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दश वटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२ सम्म पुर्याउने र बाँकी रहेका दलहरूलाई पनि सरकारमा सहभागी गराउने जोड देखिन्छ ।
जस अनुसार नेकपा एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी तयारी गरेको बताइएको छ ।
बहुमत पुर्याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाईसमेत सरकारमा सहभागी गराउने तयारी रहेको पाइएको छ ।
बाँकेबाट यसअघि काँग्रेस नेतृत्वको सरकारमा ढिलोगरि नियुक्त भएकी कृष्णा केसी (नमूना) माओवादीबाट मन्त्री बन्ने सूचीमा छन् । तर, सहरी विकास मन्त्रालयबाट हठात् विदा भएकी उनी अब कुन मन्त्रालय प्रवेश पाउँछिन भन्न सकिने देखिन्न ।
‘मुख्यमन्त्री बन्ने दाउमा महराले आफ्नो पार्टीलाई साफ पार्नपनि सक्छन्,’ जोख बहादुर महरा मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रीका सम्भावित नामबारे चर्चा गर्दा एक माओवादी नेताको प्रतिक्रिया थियो, ‘अहिले को–को मन्त्री बन्छन्, भन्न सकिन्न ।’
नयाँ राजनीतिक समीकरणको आधारमा सरकार बनाउन समर्थन गर्ने जनता समाजवादी पार्टी (जसपा)नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)सहित स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरूको बिचमा लिखित सहमति भएको खुलेको छ ।
जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । समाजवादीबाटै यसअघि भण्डारीलाल यादव दुई पटकसम्म कृषि मन्त्री सम्हालिसकेका छन् । बाँकेबाट अब सम्भवतः आदेश कुमार अग्रवाल सहरी विकास तथा पर्यटन मन्त्रालय सम्हाल्ने अवसर पाउनेछन् ।
‘इतिहास बनाउने भन्दै तेस्रो पटक यादवलाई ल्याउने कुरा भएन,’ अग्रवालको मन्त्री बन्ने सम्भावनाबारे जसपाका एक नेताले दैनिक नेपालगन्जसँग भने, ‘निश्चितजस्तै छ ।’ तर, अग्रवालले सहरी विकासनै दावी गरेकाले घोषणा गरिहाल्ने अवस्था नभएको ती नेताको भनाइ छ । दुई–दुई पटक मन्त्री बनिसकेका यादवले दावी पनि आफ्नो छाडेका छैनन् । महिलाले पाउने अवस्थामा अम्बिका काफ्लेपनि प्रभावकारी दावेदार हुन् ।
एमालेबाट रत्न खत्री मन्त्री बन्ने सम्भावित सूचीमा छन् । ‘तर, सूची लामो भएकाले यसै भन्न सकिन्न,’ खत्रीले मन्त्री बन्न गरिरहेको कसरतले सार्थकता पाउनेमा आशावादी एमालेका एक नेताले दैनिक नेपालगन्जसँग भने, ‘सबै किसिमका जोडघटाउमा को आउँछ कसरी भन्ने ?’