सुकुम्बासीको नाममा लाखौं ठगी

वनक्षेत्र कब्जा गर्ने, स्थानीयसँग मुठभेड निम्त्याउने प्रयास, पूर्व सतर्कताले ट¥यो संकट

विनय दिक्षीत

दैनिक नेपालगन्ज

गरिब निमुखाहरुलाई जग्गा दिने प्रलोभनमा एउटा गिरोहले लाखौं ठगी गरिरहेको खुलासा भएको छ । सुर्खेत, दैलेखका पहाडी तथा ग्रामीण वस्तीका सुकुम्वासी भूमिहीनहरुलाई तराई मधेसका आकर्षक जग्गा दिलाई दिने बहानामा उनीहरुसँगै लाखौंको ठगी गरिएको हो ।

बांके नरैनापुर गाउँंपालिका वडा नं १ कटकुईया स्थित गरीब नवाज सामुदायिक बनको जग्गा भूमिहीनको नाममा अनाधिकृत कब्जा गर्न खोजेपछि उत्पन्न तनाव उत्पन्न भएको छ । शुक्रवारराती रातभर स्थानीय प्रहरी र वन मात्रै होइन स्थानीय जनतासमेत जागै बसेर कब्जा गर्न खोज्नेहरुलाई लेखेटेका छन् ।

जीबी सुनार नामका व्यक्तिको नेतृत्वमा देशका विभिन्न जिल्लाबाट पुगेका करिब ४५० जना व्यक्तिले वन क्षेत्र अनाधिकृत कब्जा गर्न खोजेपछि स्थानीय बासिन्दा र उनीहरू बीच झडप भएको प्रहरीले जनाएको छ ।

नरैनापुरमा जग्गा दिने नाममा भूमिहीनको नेतृत्व गरिरहेका जीबी सुनारले प्रतिव्यक्ति ६ हजार रुपैया असूल गरेको पीडितहरूले बताएका छन् । उनीहरूबाट करिब २७ लाख रूपैया असूल गरेर योजनाबद्ध रूपमा वन क्षेत्र कब्जा प्रयास गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

‘वन क्षेत्र कब्जा गर्ने कसैलाई अधिकार छैन,’ सब डिभिजन वन कार्यालय नरैनापुरका रेन्जर मान बहादुर थापाले दैनिक नेपालगन्ज संग भने, ‘स्थानीय बासिन्दा र कब्जा गर्नेहरू विच झडपको प्रयास भएपछि तत्कालै वन क्षेत्र खाली गराइएको छ ।’ पूर्व सतर्कताले ठुलो मुठभेडको संकट टरेको बताइएको छ ।

गरीब नवाज सामुदायिक वन उपभोक्ता समूह कटकुईयाका अध्यक्ष अतिउल्ला खांले सार्वजनिक वन क्षेत्र कब्जा गराउन योजनाबद्ध रकम असुली गर्नलाई राज्यले कारबाही गर्नुपर्ने बताएका छन् । ‘हाम्रो वन क्षेत्र कुनै पनि अनाधिकृत समूहलाई कब्जा गर्ने अधिकार छैन,’ अध्यक्ष खाँले दैनिक नेपालगन्जसँग भने, ‘जनताबीचनै भिडन्त गराउन खोजिएको तथ्य पुष्टि हुन्छ ।’ उनीहरूलाई शुक्रवार अबेर राति वन कार्यालय र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा सुरक्षित फिर्ता पठाइएको अध्यक्ष खांले बताए ।

दर्जन बढि बस र सवारी साधनमा नरैनापुर पुगेको सुकुम्बासी समूहलाई प्रहरी स्कटिंगमा फर्काइएको वन कार्यालयले जनाएको छ ।

नरैनापुरमा ऐलानी जग्गा दिन्छु भन्दै एउटा गिरोहले सुर्खेत बस्ने कल्पना सुनार संग ६ हजार रूपैया असूल गर्यो, नियोजित तरीकाले सम्पर्क कार्यालय खोलेर रकम असूल गरिएको उनले बताइन । हामीलाई राम्रो जग्गा छ पैसा जम्मा गर्नुस् भन्दै पैसा लिएका हुन, पैसा दिएको कुनै रसीद पनि छैन । उनले आफु जग्गा विहीन सुकुम्बासी भएकालेनै उनीहरुको कुरा विश्वास गरेको प्रष्ट पारिन् ।

वन क्षेत्र कब्जा प्रयास गरी योजनाबद्ध रूपमा शान्ति सुरक्षा विरूद्धको समेत कार्य गर्ने जीबी सुनार सहित ५ जनालाई पहिचान गरिएको र उनीहरू उपर बन ऐन अन्तर्गत मुद्दाको तयारी रहेको जानकारी दिंदै वन समूहका अध्यक्ष खांले दैनिक नेपालगन्ज संग भने, ‘दुईजना स्थानीय व्यक्ति समेत घटनामा संलग्न रहेको पाइएको छ ।’

नरैनापुर २ बस्ने लालसरी खांले समेत जग्गा दिने नाममा रकम असूल गरेको पीडितले बताएका छन् । ‘हामीलाई सुरक्षित जग्गा छ भनेर झुक्याइयो,’ रूकुम बस्ने दिल बहादुर रसाइलीले भने, ‘जीबी सुनार र लालसरीले संयुक्त रूपमा रकम लिएका हुन् ।’

यसअघि पनि यसखालको गिरोहले सार्वजनिक वनजग्गा कब्जाकालागि भूमिहीनहरुलाई हौस्याएर जंगलक्षेत्रमा पुर्याएपनि स्थानीयले प्रतिवाद गरेपछि गएका थिए । त्यसपछि स्थानीयवासीले जंगल क्षेत्रका खाली जमिनमा वृक्षरोपण गरेर संरक्षण प्रयासपनि गरिरहेका छन् ।

Exit mobile version