अब जडिबुटी खेतीलाई महत्व दिएर अगाडि बढाउनु पर्ने सम्बद्ध क्षेत्रका व्यवसायीहरूले बताएका छन् । नेपाल जडिबुटी व्यवसायी संघको शनिबार नेपालगन्जमा आयोजित २५ औं बार्षिक साधारणसभामा वक्ताहरूले जडिबुटी व्यवसायलाई दीर्घकालीन बनाउन त्यसको खेती नै उपयुक्त विकल्प भएको बताएका हुन् । ‘प्राकृतिक स्रोतमा मात्रै भरपर्दा जडिबुटी स्रोत नै सकिन सक्छ, त्यसैले जडिबुटी खेतीलाई बढाउँदै लैजानु पर्छ’, वक्ताहरूले भने, ‘बेरोजागरी समस्या समेत समाधान हुन्छ, किसान, व्यवसायी र राज्य सबैलाई लाभ पुग्छ ।’ जडिबुटी व्यवसायीहरूले राज्यले जडिबुटी खेती, त्यसको बजारीकरण, निकासी प्रवद्र्धनका लागि सहज नीति बनाउँदै वातावरण तयार गर्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले जनतामा रहेको निराशालाई उत्पादनसँग जोडेर उत्साहित बनाउन सकिने बताए । काँग्रेस नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री चौधरीले नेपालमा जडिबुटी खेतीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसले रोजगारी सिर्जना र आयआर्जन समेत हुने बताए । उनले जडिबुटी क्षेत्रको विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै जडिबुटी खेती किसानको खेतसम्म पुर्याउनु पर्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माले जडिबुटीको क्षेत्र काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले संघको लामो प्रयासका कारण १३ बर्षदेखि बन्द रहेको झ्याउको कारोबार खुला भएको बताए । ‘भारतमा दर्ता भएर नविकरण गर्नुपर्ने बाध्यता संघकै पहल र प्रयासले हटेको छ’, अध्यक्ष शर्माले भने, ‘निर्यात सम्बन्धी समस्या समाधान हुँदै गएको छ, हाल रहेको आन्तरिक ओसारपोसारको समस्या समाधानका लागि राज्यले चासो देखाउनु पर्छ ।’
अध्यक्ष शर्माले जडिबुटी खेती गरेर निकासी गर्न सकिए विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने बताए । ‘जडिबुटी खेतीबाटै रोजगारी सिर्जना हुन्छ, राज्यले राजश्व मार्फत आम्दानी पनि गर्न सक्छ ।’
संघका महासचिव भानुभक्त रिजालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अझै पनि देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा जडिबुटी लैजान समस्या रहेको बताए । उनले निकासीका क्रममा जडिबुटी परीक्षण गर्ने क्रममा ट्रकमै एक हप्ता सम्म जडिबुटी राख्नुपर्ने अवस्था अन्त्य गर्नका लागि परीक्षणको व्यवस्था नेपालमै हुने व्यवस्था मिलाउनका लागि सरकारले अग्रसरता लिनुपर्ने
बताए ।
जडिबुटी सम्बन्धी विज्ञ समेत रहेका वनस्पति कार्यालयका सुशिल पन्थीले जडिबुटी संरक्षणका लागि सरकारले प्रयास गरिरहेको बताए । उनले जडिबुटीको व्यवसायिक खेतीले मात्रै त्यसको दिगो संरक्षण हुनसक्ने बताए । उनले लुम्बिनीमा १३ वटा जडिबुटी खेतीको सम्भावना रहेको औंल्याउँदै नेपालका हिमाल, पहाड, तराई सबै ठाउँमा जडिबुटी खेती हुनसक्ने बताए । पन्थीले वन्यजन्तुले समेत जडिबुटी खेतीमा नोक्सान नगर्ने भएकाले जडिबुटी खेती लाभकारी हुने धारणा राखे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका खानेपानी वन, वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जडिबुटी व्यवसायीहरू लगायतले बोलेका थिए ।