१. नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनअघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए ।
२. बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए ।
३. म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ ।
४. म्याग्दीका जङ्गलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरीपालक कृषक बढ्दै गए पनि मह उत्पादन भने घट्दै गएको छ । म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैँयु, दुधिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव र पुष्परसको कमी भएका कारण मह उत्पादन घट्दै गएको कृषकले बताएका छन् ।
५. गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई शनिबार जिम्मेवारी तोकेका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
६. कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताए । नेपाल पत्रकार महासङ्घ सुर्खेतको १२औँ अधिवेशन तथा साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगत्को ठूलो भूमिका रहेको बताए ।
७. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा बजेट बढाउने बताए । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले शनिबार धनगढीमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद र १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको पदक प्राप्त खेलाडीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त गरे ।
८. उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पुर्याउन केन्द्रित हुनुपर्ने बताए ।