चालु आर्थिक वर्षको नौ महिना बितिसकेको भएपनि नेपालगन्ज भन्सार कार्यालयले ५० प्रतिशत पनि लक्ष्य अनुसार राजश्व असुली गर्न सकेको छैन । दैनिक करोडौंको मालसामान बिना भन्सार भित्रिएको गुनासो बीच भन्सार आफैले निर्धारण गरेको लक्ष्य प्राप्तिमा असफल भैरहेको तथ्यांकले देखाएको छ । चालु आ.व.को नौ महिना चैत्र मसान्तसम्म भन्सार असुली ४५.८८ प्रतिशत मात्रै भएको छ । अब बाँकी ३ महिनामा करिब ५५ प्रतिशत भन्सार राजश्व असुली भएमा मात्रै भन्सारले आफ्नो बार्षिक लक्ष्य प्राप्त गर्न सक्छ ।
भन्सार विभागले कार्यालयलाई चैतसम्म २१ अर्ब २२ करोड ५२ लाख राजस्व असुली गर्ने लक्ष्य दिएकोमा १३ अर्ब २४ करोड ८२ लाख मात्र असुली भएको नेपालगन्ज भन्सारको तथ्यांक रहेको छ । भन्सार विभागले वर्ष नेपालगन्ज भन्सार कार्यालयलाई कुल २८ अर्ब ६६ करोड राजस्व असुली गर्ने वार्षिक लक्ष्य दिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.को सुरु देखि नै मासिक लक्ष्य अनुसार राजश्व असुली गर्न सकेको थिएन । सुरुवाटै भन्सार असुलीमा असफल भैरहेपनि अहिले पनि मुख्य नाकाबाटै बिना भन्सार मालसामान भित्रिएको पाइन्छ भने विभिन्न नाका भएर भन्सार छलेर भित्रिएका मालसामान सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिएर भन्सारलाई बुझाउँदै गएको छ । चालु आ.व.को पहिलो महिनादेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयले चैतमा पनि लक्ष्य पुरा गर्न सकेको छैन । भन्सारको राजश्व असुलीको तथ्यांक अनुसार, चैत्रमा लक्ष्यको ६३.५६ प्रतिशत मात्र राजस्व असुली भएको छ । चैत्र महिनामा भन्सारले दुई अर्ब ४५ करोड रूपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएकोमा १ अर्ब ५५ करोड रूपैयाँ मात्रै असुली भएको हो ।
कार्यालयका अनुसार चालु आवको साउनमा १ अर्ब ८१ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा १ अर्ब ४१ करोड, भदौमा २ अर्ब २२ करोडको लक्ष्य राखेकोमा १ अर्ब ४५ करोड, असोजमा २ अर्ब ४४ करोडको लक्ष्य रहेकोमा १ अर्ब ४८ करोड, कात्तिकमा २ अर्ब ३८ करोडको लक्ष्य राखेकोमा १ अर्ब २४ करोड मात्रै संकलन भएको थियो । त्यसैगरी मंसिरमा २ अर्ब ५२ करोडको लक्ष्यभन्दा केही कम र पुसमा २ अर्ब ५६ करोडको लक्ष्यमा १ अर्ब ५३ करोड राजस्व असुली भएको थियो । माघमा २ अर्ब ३१ करोडको लक्ष्यमा १ अर्ब ३१ करोड, फागुनमा २ अर्ब ५० करोडको लक्ष्यमा १ अर्ब ५८ करोड राजस्व असुली गर्न सफल भएको कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालय मार्फत डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, शुद्ध फलाम, चामल, आलु, सुपारी, अलकत्रा विटुमिन, भटमासको तेललगायतका रहेका छन् । निर्यात हुने प्रमुख वस्तुमा जडीबुटी, दालचिनी, रिठ्ठा, प्लाइउड, घिउलगायतका माल वस्तु रहेका छन् ।