नेपाल–भारत जमुनाहमा निर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) आज सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । जमुनाहमा एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल–भारत बीच सम्झौता भएको १८ बर्षपछि एकीकृत जाँच चौकी औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो । एकीकृत जाँच चौकी नेपाल–भारत दुवै तर्फ निर्माण भएको छ । त्यसका लागि सन् २००६ मा दुई देश बीच सम्झौता भएको थियो । नेपाल तर्फ जग्गा नेपाल सरकारले छुट्याएपनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो । २०७५ माघ १ गते भारतका तत्कालीन केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आइसीपीको निर्माणको शिलान्यास गरेका थिए । भारततर्फ आइसीपीको शिल्यान्यास भएको दुई बर्षपछि नेपालतर्फ भूमिपुजन गरिएको थियो ।
एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को निर्माण २०७७ साल असोज ६ बाट सुरु भएको थियो । गत बर्ष जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्रीले भिडियो मार्फत आइसीपीको उद्घाटन गरेका थिए भने जमुनाहमा रहेको आइसीपीमा नेपाल–भारत दुवै तर्फबाट मालवाहक सवारीसाधनको आवतजावत गरिएको थियो । दुई देशका प्रधानमन्त्रीले आइसीपीको उद्घाटन गरेपनि औपचारिक रूपमा सञ्चालनका लागि झण्डै एक बर्ष लागेको छ ।
भारतले पूर्वाधार निर्माण सकेसँगै यसै बैशाखमा नेपाललाई आइसीपी हस्तान्तरण गरेपछि आजबाट सञ्चालनमा ल्याउन लागिएको हो । भारतले निर्माण सकेपछि संघीय आयोजना कार्यान्वयन इकाइ, बाँकेलाई हस्तान्तरण गरेपछि इकाइले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई आइसीपी हस्तान्तरण गरेको थियो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले आइसीपी सञ्चालनका लागि २०८० असार ११ मा बोलपत्र आव्हान गरेको थियो । उक्त प्रक्रियामा पछि टीआरएस एटलस लोजीपार्क प्रालिलाई आइसीपी सञ्चालनका लागि पूर्वाधार हस्तान्तरण गरिएको थियो ।
‘आइसीपीका पूर्वाधारको काम सकेर सञ्चालनका लागि टीआरएसलाई जिम्मा दिइएको छ’, नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर जीवन ढकालले भने, ‘सोमबारदेखि भन्सार सम्बन्धी सबैकाम आइसीपीबाट हुनेछ ।’ उनले पाँच बर्ष आइसीपी सञ्चालनका लागि टीआरएस एटलसले जिम्मेवारी पाएको जानकारी दिए ।
समितिले जाँच चौकीहरूको सञ्चालन अहिले निजी क्षेत्रबाट चलाइरहेको छ । समिति भने नियामक निकायका रूपमा रहेको छ । ‘नेपालगन्जमा पनि हाम्रो कार्यालय र कर्मचारीहरू रहनुहुनेछ’, इन्जिनियर ढकालले भने ।
एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ ।
नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आईसिपी निर्माण गरिएको हो । दुई हजार २०० मिटर लम्बाई र ६० मिटर चौडाइमा छुट्टै आईसिपीका लागि ‘एप्रोज रोड’ निर्माण गरिएको छ ।
आईसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैङ्क काउण्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ । माल सामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौँको संख्यामा ट्रक,
ट्याङ्कर तथा कन्टेनर आवत–जावत गर्छन् । समयमा आईसिपी सञ्चालन नहुँदा अहिलेसम्म सडकमै सवारी साधन रोकेर भन्सार जाँचपास गर्नुपर्ने बाध्यता छ ।
नेपालगन्जका व्यवसायीहरुले एकीकृत जाँच चौकीलाई बिस्तार गरेर सुख्खा बन्दरगाहका रुपमा अघि बढाउन आवश्यक रहेको भन्दै पहल थालिसकेका छन् ।